चेपाङ समुदायका लागि ९८ आवासगृह निर्माण सुरु

काठमाण्डु टुडे २०७० मंसिर १९ गते ९:०१ मा प्रकाशित

हेटौँडा, १९ मङ्सिर– मकवानपुरको ४३ गाविसमध्ये दोस्रो चरणमा थप १७ गाविसका जनता आवास कार्यक्रमअन्तर्गत पिछडिएका चेपाङ समुदायका लागि अहिले ९८ वटा नयाँ आवासगृहको निर्माण सुरु गरिएको छ ।
हाल ती चेपाङ समुदायलाई नयाँ आवासगृह निर्माणका लागि रु ४० लाख १० हजार स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरिसकिएको भवन तथा प्राविधिक एवम् तालिम केन्द्र हेटौँडाले जनाएको छ ।
सरकारले प्रत्येक चेपाङ घरधुरीलाई एउटा आवासगृह निर्माण गर्न जनही रु एक लाख ५२ हजार एवम् शौचालय निर्माणतर्फ रु १० हजार गरी कुल रु एक लाख ६२ हजार अनुदान रकम उपलब्ध गराएको छ ।
यसैगरी प्रत्येक घरधुरीले आआफ्नो आवासगृहको निर्माण गर्ने क्रममा जनही रु १० हजार बराबरको श्रमदान गर्नुपर्ने अनिवार्य गरिएको बताइएको छ ।
एक सय चेपाङ परिवारलाई सरकारले नयाँ आवासगृह निर्माण गर्न गत आव २०६९÷७० मा रु एक करोड ४८ लाखमध्ये रु ८० लाख भवन प्राविधिक तथा तालिम केन्द्र हेटौँडालाई उपलब्ध गराएको थियो ।
ती ९८ वटा आवासगृह आगामी वैशाख मसान्तसम्ममा निर्माण पूरा गरी जेठको पहिलो साता हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ, भवन प्राविधिक तथा तालिम केन्द्र हेटौँडाका वरिष्ठ अधिकृत निष्णुप्रसाद शर्माले बताए ।
यसैबीच अघिल्लो आव २०६८/६९ मा मकवानपुर जिल्लाका ११ गाविसमा चेपाङ समुदायका लागि जनता आवास कार्यक्रमअन्तर्गत निर्माण गरिएका २०० आवासगृह सम्बन्धित परिवारलाई चालु आव २०७०/७१ को वैशाखमा हस्तान्तरण गरिसकिएको शर्माले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us