
जनकपुरधाम, १९ मङ्सिर–मिथिलाञ्चलको इतिहास, संस्कृति तथा लोकगाथासँग जोडिएका ऐतिहासिक तथा प्राचीन लोकनाच लोप हुन थालेपछि सम्बद्ध कलाकारहरू पनि पलायन हुन थालेका छन् ।
ईस्वी सन्को सातौँ, आठौँ शताब्दीदेखि प्रचलनमा रहेका मिथिला क्षेत्रको ऐतिहासिक तथा प्राचीन लोकनाचहरू राजा सहलेस, शितबसन्त, रुनाझुना, जङ्गली बादशाह, गोपीचन्द कुँवर–वृजभान, सुन्दर वनको सुन्दर फूल, अल्लाह–रुदल, गुगलीघाट, समाचकेवा, कमलामैया, जयविसहरा, दुलहा दयालसिंहजस्ता नाचहरू लोप हुन थालेका हुन् ।
विगत ४० वर्षदेखि यस्तो नाच देखाउँदै आएका सिरहाको थलहा गाविसका ६० वर्षीय कलाकार फनिराम साफी भन्छन‘उहिले नाचको राम्रो माग भएकाले २० जना कलाकारलाई भेला गरी एउटा नाच कम्पनी नै बनायाँै, तर कालान्तरमा नाच लोप हुन थालेपछि कलाकारहरु नै रोजीरोटीका लागि विदेश पलायन भए ।’
पन्ध्र वर्ष पहिले नाच देखाएरै वार्षिक १० लाख रुपैया कमाउने गरेको उनको भनाई छ । तर उनी अहिले वार्षिक एक लाख रुपैया पनि कमाइ नहुने गरेको गुनासो गर्छन ।
साफीको भनाइमा अहिले पाँच प्रतिशतको हाराहारीमा मात्र यस्ता नाच प्रचलनमा छन् । दुई सयभन्दा बढी नाच कम्पनी रहेको सिरहा र धनुषा जिल्लामा अहिले दुई दर्जनको हाराहारीमा मात्र त्यस्ता नाच कम्पनी जसोतसो सञ्चालनमा छन् । यहीकारण २०० भन्दा बढी कलाकार बेरोजगार भएको उनीहरूको भनाइ छ ।
खासगरी ग्रामीण क्षेत्रमा लोकप्रिय यस्ता नाचहरू लोप हुनुको प्रमुख कारण ऐतिहासिक नाचका सिडीहरु बजारमा छ्यापछ्याप्ती पाउनु पनि हो ।
कलाको सम्मान नहुनु, राज्यबाट यस्ता नाचको संरक्षण नहुनु, कलाकारलाई प्रोत्साहन नहुनुजस्ता कारणले ऐतिहासिक महत्वका यस्ता नाच लोप भइरहेका छन् । यस्ता नाचहरू लोप हुन थालेपछि यसका कलाकारहरू आर्थिकरुपमा सङ्कटग्रस्त अवस्थामा पुगेका हुन् ।
मिथिला क्षेत्रसँग जोडिएको पल्लवित र पुष्पित यस प्रकारका नाचको संरक्षण, सम्बद्र्धन गर्न सरकारले बजेट नै छुट्याउनु पर्ने कलाकारहरुको माग छ । मिथिला क्षेत्रको इतिहास, संस्कृति र लोकगाथासँग जोडिएका ऐतिहासिक र प्राचीन लोकनाचहरू बन्द हुन थालेपछि बेरोजगार हुन बाध्य भएका कलाकारहरूको पलायन रोक्न सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने स्थानीय बुद्धिजीवीहरुको भनाइ छ । रासस