‘सबैको सहमतिमा सरकार र संविधान’

काठमाण्डु टुडे २०७० मंसिर १९ गते ५:२४ मा प्रकाशित

Ramchandra-Paudelकाठमाण्डु, १९ मंसिर–नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभा निर्वाचनबाट प्राप्त जनादेशको आधारमा सहमतिको सरकार गठन गरी संविधान लेखन कार्य शुरु गर्ने बताएका छन् । निर्वाचन परिणामप्रति असन्तुष्ट दलहरुसँग पनि सहमति कायम गरिने पौडेलको भनाइ छ ।

नेपालका लागि अमेरिकी कार्यवाहक राजदुत चाल्र्स कारबाईलसँग बुधबार विहान भएको भेटमा पौडेलले संविधानसभा भित्र र बाहिर रहेका सबै दलहरुसँग संवाद र सहमति गरेर संविधान निर्माणको कामलाई अघि बढाउने बताएका हुन् ।

पौडेल निवास बोहोराटारमा भएको भेटवार्तामा कार्यवाहक राजदुत चाल्र्सले दलहरुबीच भैरहेको सहमतिको प्रयास, सरकार गठन, संविधान लेखन लगायत पछिल्लो राजनीतिक अवस्थाबारे जिज्ञासा राखेका थिए । संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पौडेललाई बधाई दिदै उनले दलहरुबीचको सहमतिबाट सरकार तथा संविधान निर्माण हुने विश्वास व्यक्त गरेको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

उपसभापति पौडेलले निर्वाचनका क्रममा अन्तराष्ट्रिय समुदायबाट भएको सहयोगप्रति आभार व्यक्त गर्दै सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोले निर्वाचनबाट प्राप्त जनादेशका आधारमा अघि बढ्ने बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us