
इलाम, १९ मंसिर–इलामका छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । इलाम नगरपालिका–३ स्थित पदम तामाङको घरमा रङ लगाउँदै गर्दा विद्युत्को पोलमा ठोक्किएर इलाम नगरपालिका–६ तिल्केनीका टीका खवासको मृत्यु भएको छ ।
रङ लगाउँदै गर्दा विद्युत्को पोलमा ठोक्किएर भुइँमा लडेर घाइते भएका खवासको उपचारका क्रममा गएराति जिल्ला अस्पताल इलाममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै कन्याम–४ निवासी ८४ वर्षीय टेकबहादुर भुजेलको आफ्नै घरबाट शौच गर्न बाहिर निस्कँदा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । लडेर घाइते भएका भुजेलको उपचारका लागि झापातर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
त्यसैगरी मंसिर १५ गते आफ्नै घरबाट हराएका इलाम शान्तिपुर–५ शिरिसे निवासी ४५ वर्षीय भोजबहादुर मिजार मृत अवस्थामा फेला परेका छन् । हराएको दिनदेखि खोजी गर्दा उनलाई प्रहरी र स्थानीयको टोलीले लक्ष्मीपुर–६ स्थित तल्लो आरुबोटे भन्ने जङ्गलमा मृत फेला पारेको हो ।
घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक कवीन्द्रकुमार कार्कीले जानकारी दिए ।