गण्डक सम्झौताको ५४ बर्ष

काठमाण्डु टुडे २०७० मंसिर १९ गते ३:५४ मा प्रकाशित

gandakकाठमाण्डु, १९ मंसिर– पाँच दशकभन्दा अघि नेपाल र भारतबीच भएको गण्डक सम्झौता पुनरावलोकन गर्न नवलपरासीका सुस्ताबासीले माग गरेका छन् । सन् १९५९ डिसेम्बर ४ तारिकमा नेपाल र भारतबीच गण्डक सम्झौता भएको थियो ।

आजभन्दा ५४ बर्ष अघि भएको विभेदकारी गण्डक सम्झौतापछि नेपाली पक्षले सैयौं बिघा जमिन र गाउँ नै गुमाएका छन् । सम्झौताको भारतले पूर्णरुपमा पालना नगर्दा सुस्तावासीले हरेक बर्ष बाढी, डुबान र कटानको समस्या भोग्दै आएका छन् ।

जीर्ण भएको बाँध र तटबन्ध समयमै मर्मत तथा पानीको उचित बाँडफाँट नहुँदा हरेक बर्ष डुबान र कटानको चपेटामा परेको सुस्ताबासीको गुनासो छ । सम्झौताअनुसार मर्मत सम्भारको काम भारतले गर्नुपर्ने हो । तर, भारतीय पक्षले त्यसलाई बेवास्ता गर्दै आएको छ ।

सम्झौता पूर्णरुपमा कार्यान्वयन र संशोधन गराउन नेपाल सरकारले पनि नसकेको गण्डक पीडितहरुको गुनासो छ । उनीहरुले समस्या समाधानका लागि कुटनीतिक पहल गर्न नेपाल सरकारसँग माग गर्दैै आएका छन् ।

सुस्ताबासीले २०६५ सालमा संघर्ष समिति गठन गरी आन्दोलन पनि गरेका थिए । सो समयमा भारतीय पक्ष र सुस्ताबासीबीच भएको सम्झौता पनि भारतले कार्यान्वयन नगरेपछि स्थानीय थप रुष्ट भएका छन् । सम्झौता पुनरावलोकनको माग गर्दै उनीहरुले पुनः आन्दोलन थाल्ने तयारी गरेका छन् ।

gandak-dam

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us