
काठमाण्डु, १९ मंसिर– बंगलादेशमा आगामी बर्ष हुने ट्वान्टी–ट्वान्टी विश्वकपमा छनौट भएको नेपाली क्रिकेट टोलीको सम्मानमा राष्ट्रिय खेलकुद परिषदले बुधबार नगर परिक्रमा गराएको छ ।
खेलाडिहरु बसेको नक्शालस्थित होटल क्राउन प्लाजाबाट पन्चैबाजा सहित उनीहरुलाई नगर परिक्रमा गराउन शुरु भएको थियो । विशेषरुपमा सजाइएको गाडिमा बसेका खेलाडिहरुले आफ्नो हातमा चन्द्रसूर्य अंकित नेपालको राष्ट्रिय झण्डा लिएका छन् । सडक छेउँछाउँ र घरको छतमा बसेकाहरुले पनि उनीहरुलाई हौसला प्रदान गरिरहेका छन् । र्यालीमा क्रिकेटप्रेमीहरु पनि सहभागी छन् ।
दरबारमार्ग, बागबजार, पुतलीसडक, भुकुटीमण्डप, भद्रकाली हुँदै त्रिपुरेश्वर पुगेर नगर परिक्रमा टुंगिने छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदमा सबै खेलाडिहरुलाई सम्मान गर्ने कार्यक्रम छ ।
यसअघि नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट टोलीलाई सहभागी सबै २० जना सदस्यहरुलाई मंगलबार नगद सहित सम्मान गरेको थियो ।