
काठमाण्डु, १९ मंसिर– मुख्य राजनीतिक दलहरुले समानुपातिक तर्फका सभासद छनौटको गृहकार्य शुरु गरेका छन् । समानुपातिक तर्फका सभासद सिफारिस गर्न निर्वाचन आयोगले सात दिनको समय दिएकाले दलहरु त्यसको गृहकार्यमा जुटेका हुन् ।
सभासद छनौटबारे छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक बुधबार अपरान्ह बस्दै छ । अपरान्ह तीन बजे केन्द्रीय कार्यालय बल्खुमा बस्ने स्थायी कमिटी बैठकमा सभासद छनौटको मापदण्ड बनाउनेबारे छलफल हुने स्रोतले जनाएको छ । यसअघि एमाले शीर्ष नेताहरुबीच सभासद छनौटमा छलफल हुँदै आए पनि बुधबार औपचारिक रुपमा बैठक बसेर त्यसको प्रकृया शुरु गरिएको हो ।
आयोगमा बुझाइएको ३ सय ३५ जनाको समानुपातिक सूचीबाट समावेशी सिद्धान्तको आधारमा ८४ जनाको नाम एमालेले छान्नु पर्ने छ ।
यसैगरी सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले पनि समानुपातिक सभासद छनौटकालागि पार्टीभित्र आन्तरिक गृहकार्य जारी रहेको जनाएको छ । समानुपातिक तर्फ काँग्रेसका ९१ सभासद रहने छन् ।