दृष्टिविहीन अमिट सगरमाथा चढ्ने

काठमाण्डु टुडे २०७० मंसिर १९ गते २:२४ मा प्रकाशित

बागलुङ, १९ मंसिर–बागलुङका दृष्टिविहीन अमिट केसीले सन् २०१५ को मे महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । आरोहणका लागि लाग्ने आर्थिक खर्चको जोहोका लागि केसीले सबैसँग सहयोगको अपिल पनि गरेका छन् ।

सार्वजनिक अपिल जारी गर्दै केसीले सगरमाथा आरोहणका लागि करिब एक लाख अमेरिकी डलर (नेपाली एक करोड) लाग्ने बताएका छन् । सन् २०१५ को मे महिनामा आरोहण सुरु हुने भए पनि प्राविधिक तयारी, तालिम र व्यवस्थापनका लागि अन्य खर्च हुने केसीको भनाइ छ । केसीको आरोहणमा लाग्ने खर्च जुटाउन उद्योग वाणिज्य संघ बाग्लुङले यही मंसिर २६ गते सर्वपक्षीय बैठक पनि डाकेको छ ।

केसीले व्यक्तिगत रुपमा पनि सहयोग अभियान चलाइरहेका छन् । ‘मलाई विश्वास छ, यो मेरो मात्रै व्यक्तिगत कुरा होइन, यो राष्ट्रिय महत्वको विषय पनि भएकाले सबै क्षेत्रबाट सहयोग प्राप्त हुने विश्वास लिएको छु’ केसीले भने ।

संसारकै दोस्रो र नेपालको पहिलो दृष्टिविहीन व्यक्तिका रुपमा केसीले सगरमाथा आरोहण गर्न लाग्नुभएको हो । यसअघि सन् २००१ मा अमेरिकी दृष्टिविहीन नागरिक एरिकले सगरमाथाको सफल आरोहण गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us