थाइल्यान्डमा प्रहरीद्वारा प्रदर्शनकारीलाई स्वागत

काठमाण्डु टुडे २०७० मंसिर १८ गते १४:२९ मा प्रकाशित

ब्याङकक, १८ मंसिर– थाइल्यान्डमा सम्मानित नरेशको जन्मदिन अगाडि तनाव कम गर्ने नाटकीय पाइलाको रूपमा सुरक्षा समूहले मङ्गलबार प्रधानमन्त्री यिङलक सिनावात्रालाई अपदस्थ गर्न सडकमा पुगेका प्रदर्शनकारीहरूलाई सरकारी कार्यालयमा प्रवेश गर्न नदिने कार्य मङगलबार रोकेका छन् ।

थाइल्यान्डमा बिहीबार नरेश भुमिबोल अदुल्यादेजको ८६ जन्मदिन मनाइने भएको छ र यसका कारण ढुङ्गा हान्ने प्रदर्शनकारी तथा उनीहरूमाथि अश्रुग्यास, पानीको फोहोरा तथा रबरको गोली हान्ने प्रहरीको कार्यनीतिमा परिवर्तन भएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख पारादोर्न पातानाताबुतले यी कुरा आपसी सहमतिको आधारमा भएको र जन्मदिनमा सबैकुरा शान्तपूर्ण तथा सही हुनुपर्ने बताए । उनले यो सकारात्मक सङ्केत भएको र राजाको जन्मदिनपछि वार्ता हुनसक्ने बताए । उनले वार्ताको माध्यमबाट समस्या समाधान गर्न समय लाग्ने पनि उल्लेख गरे ।

प्रदर्शनकारीहरूले प्रधानमन्त्री यिङलक सिनावात्राको सरकार भङ्ग गरी त्यसको स्थानमा अनिर्वाचित ‘जनपरिषद्’ गठन गर्ने लक्ष्य राखेका छन् । सात वर्ष अगाडि त्यहाँको राजाप्रति समर्थक सैनिक जनरलहरूले वर्तमान प्रधानमन्त्रीका दाजु थाकसिन सिनावात्रालाई विद्रोह गरी पदमुक्त गरेका थिए ।

शनिबारदेखिको सडक हिंसामा चार व्यक्तिको मृत्यु भएको छ भने २५० व्यक्ति घाइते भएका छन् । प्रदर्शनकारीका नेता तथा पूर्व उपप्रधानमन्त्री सुथेप थाउगसुबानले आफ्ना समर्थकहरूलाई सरकार हटाउने सङ्घर्ष अन्त्य नभएको बताएका छन् । यसका कारण राजाको जन्मदिनपछि नयाँ तनाव उत्पन्न हुने अनुमान गरिएको छ । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us