
वीरगन्ज, १८ मंसिर– संविधानसभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारमध्ये हालसम्म यहाँ दुई जनाले मात्र निर्वाचनमा गरेको खर्चको विवरण पेस गरेको छ ।
मतगणना सम्पन्न भएको ३५ दिनभित्र उम्मेदवारले निर्वाचनमा भए गरेका खर्चको विवरण पेस गर्नुपर्ने भएको व्यवस्थाअनुरुप ती दुवै जनाले जिल्ला निर्वाचन कार्यालय पर्सामा खर्च विवरण पेस गरेको हो । खर्च विवरण पेस गर्नेमा एनेकपा (माओवादी)का तर्फबाट पर्सा क्षेत्र नं ३ र ४ का उम्मेदवार क्रमशः जितेन्द्र यादव र प्रह्लाद गिरी रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार उम्मेदवार यादवले रु आठ लाख ८३ हजार तथा गिरीले रु आठ लाख आठ हजार खर्चको विवरण पेस गरका छन् । ती दुवैजना पराजित उम्मेदवार हुन् । दोस्रो संविधानसभा सदस्य निर्वाचनमा यादवले एक हजार ५ सय १७ र गिरीले चार हजार १ सय ३८ मत प्राप्त गरेका थिए ।
संविधानसभा सदस्य निर्वाचनका लागि प्रत्येक उम्मेदवारलाई अधिकतम रु १० लाख खर्च गर्न पाउने सीमा निर्वाचन आयोगले तोकेको थियो, पर्साका प्रमुख निर्वाचन अधिकारी मधुकर पोखरेलले भने, ‘प्रत्येक उम्मेदवारले मतदाता नामावली खरिद, सवारीसाधन, इन्धन, पर्चा छपाइ, ढुवानी, आमसभा, गोष्ठी, कार्यालय सञ्चालन, कार्यकर्ता परिचालन र बुथ खर्चलगायतका विभिन्न ११ शिर्षकमा अधिकतम रु १० लाख खर्च गर्न पाउन सकिने व्यवस्था निर्वाचन आयोगले गरेको थियो ।’