
काठमाण्डु, १८ मंसिर– निर्वाचन आयोगले दलहरुले पाएको समानुपातिक सिट संख्या घोषणा गर्दै दलहरुलाई एक साताभित्र समानुपातिक प्रतिनिधिहरुका नाम पेश गर्न समय दिएको छ ।
दलहरुले पाएको मतअनुसार सिट संख्या बाँडफाँड गर्दै आउँदो २५ गतेभित्र आ–आफ्ना उम्मेदवारको सूची पेश गर्न आयागले सबै दलहरुलाई बैठकमा बोलाएर पत्र दिएको छ ।
समानुपातिक बाँडफाँडमा कुल मत ९४ लाख ६१ हजार ८ सय ६२ मत खसेको जनाउँदै आयोगले काँग्रेसले ९१, एमालेले ८४, एमाओवादीले ५४ तथा राप्रपा नेपालले २४ सिट पाएको बताएको छ ।
आठ नयाँ भित्रिए, दुई पुरना बाहिरिए
समानुपातिक बाँडफाँडसँगै यसपटकको संविधानसभामा आठ वटा दलहरु नयाँ आएका छन् । त्यस्तै पुरना दुई पार्टी भने संविधानसभाबाट बाहिरिएका छन् ।
संविधानसभामा स्थान बनाएका नयाँ पार्टीहरुमा मधेस समता पार्टी, जनजागरण पार्टी, संघीय समाजवादी पार्टी, थरुहट तराई पार्टी, अखण्ड नेपाल पार्टी, थम्वुवान पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी र तराई मधेस सद्भावना पार्टी रहेका छन् ।
संविधानसभाबाट बाहिरिने दुई पुराना पार्टीहरुमा चुरेभावर राष्ट्रिय एकता पार्टी र नेपाल सद्भावना पार्टी रहेका छन् ।
कुरा समावेशीको
आयागले दलहरुलाई पत्र दिँदै ३० प्रतिशतसम्म मत आएको पार्टीहरुले महिला र पुरुष बराबरी गरेर समानुपाति सभासद तय गर्नुपर्ने अनिवार्य रहेको बताएको छ ।
त्यस्तै ३० प्रतिशतभन्दा बढी मत ल्याएका पार्टीहरुले भने महिला, नजजाति, आदिवासीगरी सबै पक्षलाई समावेश गर्न जरुरी रहेको उल्लेख गरेको छ ।
संविधानसभामा ३० दल
चुनावमा सहभागी १ सय २२ दलमध्ये ३० दलले दोस्रो संसवधानसभामा प्रवेश पाएको छ । ३० दलले कम्तिमा एक सिट पाउने मत पाएको हो । ९२ दलले भने एक सिट पाउने बराबर मत पनि ल्याउन नसकेकाले संविधानसभामा प्रवेश पाएनन् ।
१६ दलद्वारा बहिष्कार
एकीकृत माओवादीसहित १६ दल भने आयोगको बैठक बहिष्कार गर्दै अनुपस्थित रहे । चुनाव धाँधलीपूर्ण भएको भन्दै उच्चस्तरीय छानबिन आयोग गठनको माग गरिरहेका ती दलहरुले माग पूरा नहुन्जेलसम्म आयोगको बैठक बहिष्कार गर्ने सोमबार घोषणा गरेका थिए ।