१६ दलबाट निर्वाचन आयोगको बैठक बहिस्कार

काठमाण्डु टुडे २०७० मंसिर १८ गते ६:२३ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर–एकीकृत नेकपा माओवादी सहित १६ दलले निर्वाचन आयोगले मंगलबार बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेका छन् । चुनावमा संस्थागत धाँदली भएको दावी गर्दै आएका दलहरुले बैठक बहिस्कार गरेका हुन् ।

मंसिर चार गते सम्पन्न संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ दलहरुले पाएको मत र सिट संख्याबारे औपचारिक जानकारी गराउन निर्वाचन आयोगले कान्तिपथस्थित आफ्नै कार्यालयमा सर्वदलीय बैठक आह्वान गरेको थियो ।

एमाओवादी सहित, मधेसी जनअधिकार फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, संघीय समाजवादी पार्टी, संघीय सदभावना पार्टी, फोरम गणतान्त्रिक लगायत दलका कोही पनि नेताहरु बैठकमा सहभागी भएनन् । धाँधलीको स्वतन्त्र छानविन नभएसम्म आयोगले आयोजना गरेको कुनै पनि छलफल र बैठकमा सहभागी नहुने ति दलको अडान छ ।

एकीकृत माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको असन्तुष्ट १६ दलको संयुक्त बैठकले छलफलमा पनि नबस्ने र संविधानसभामा पनि नजाने निर्णय गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us