
मोरङ, १८ मंसिर–मोरङको हरैचामा रहेको चन्द्रहरि स्मृति प्रतिष्ठानले हरेक वर्ष विपन्न सामुदायिक विद्यालयका विद्यार्थीलाई १० थान कम्प्युटर प्रदान गर्ने घोषणा गरेको छ । वैदेशिक रोजगारीका लागि अमेरिका पुगेका मोरङ हरैचा–६ निवासी शिवप्रकाश पौडेलले आफ्ना बुबाको नाममा स्थापना गरेको चन्द्रहरि प्रतिष्ठानले हरेक वर्ष अलगअलग ठाउँका विपन्न विद्यालयलाई १० थान कम्प्युटर प्रदान गर्ने घोषणा गरेको हो ।
हरैचामा रहेको सामुदायिक विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थी शिवप्रकाश हाल अमेरिकाको ‘टेक्सास’ राज्यमा बन्द व्यापार गरेर बस्दै आएका छन् । उनले आफू र आफ्ना साथीभाइले कमाएको पैसाबाट विपन्न विद्यालयलाई शैक्षिक सहयोग गर्दै आएका छन् ।
यसका लागि अमेरिकामा हिमालयन लायन्स क्लब स्थापना गरेर सहयोग सङ्कलन गर्ने गरिएको प्रतिष्ठानका अध्यक्ष पौडेलले जानकारी दिए ।
चन्द्रहरि प्रतिष्ठानले यसै वर्ष हरैचा–६ मा रहेको जनता उमाविलाई १० थान कम्प्युटर निःशुल्क प्रदान गरिसकेको छ । साथै विद्यालयको भवन बनाउन नगद रु दुई लाख र जेहेन्दार विद्यार्थीका लागि रु दुई लाख ५० हजारको अक्षय कोषसमेत खडा गरिदिएको छ । गाउँका विद्यालयमा पढ्दा कम्प्युटर सिक्न नपाएकाले रोजगारीका लागि अमेरिका जाँदा पाएको धोखा बुझेर ग्रामीण क्षेत्रका विपन्न समुदायका विद्यार्थीलाई कम्प्युटर शिक्षा सिक्न सहयोग पुगोस् भनेर हरेक वर्ष दस थान कम्प्युटर प्रदान गर्ने घोषणा गरिएको उनले बताए ।
चन्द्रहरि प्रतिष्ठान र हिमालयन लायन्स क्लब अमेरिकाले यसै वर्ष नेपालमा खाली खुट्टा र नाङ्गो आङ बस्न बाध्य बालबालिकालाई जुत्ता चप्पल र न्याना कपडा पनि वितरण गर्ने योजना बनाएको छ ।