युथफोर्स केन्द्रीय सदस्य पक्राउ

काठमाण्डु टुडे २०७० मंसिर १८ गते ४:५५ मा प्रकाशित

चितवन, १८ मंसिर–ठूला दलका नेता कार्यकर्ताको पक्राउलगत्तै छोड्न दबाब पर्ने भएपछि प्रहरीले पक्राउलगत्तै म्याद थपको रणनीति अख्तियार गरेको छ । चितवन क्षेत्र नं ३ का एकीकृत नेकपा (माओवादी)का उम्मेदवार नारायण दाहालको गाडीमाथि तोडफोड गरेको अभियोगमा सोमबार बिहान पक्राउ परेका नेकपा (एमाले)का प्रकाश रेग्मीलाई प्रहरीले तत्काल म्याद थप गरेको छ ।

युथफोर्सका केन्द्रीय सदस्यसमेत रहेका रेग्मीलाई छाड्न दबाब सुरु हुन नपाउँदै प्रहरीले केही सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गराएको हो ।

नेकपा (एमाले) चितवनका अध्यक्ष जगन्नाथ थपलियाले भन्न नपाउँदै प्रहरीले म्याद थपेर असजिलो बनाएको बताए । ‘घटनामा रेग्मीको हात छैन तर यो कुरा प्रहरीलाई भन्न नपाउँदै म्याद थपेछ’ अध्यक्ष थपलियाले भने ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले छाड्न दबाब पर्ने भएपछि पक्राउलगत्तै म्याद थप गरी मुद्दा चलाएको जानकारी दिए । सिँचाइ कार्यालय परिसरमा टेन्डर हाल्न पुगेका रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us