एमाओवादीले भेटायो धाँधलीको प्रमाण

काठमाण्डु टुडे २०७० मंसिर १८ गते ५:०७ मा प्रकाशित

UCPN-Maoistकाठमाण्डु, १८ मंसिर–संविधानसभा निर्वाचनमा भएको भनिएको धाँधली छानविन गर्न एकीकृत नेकपा माओवादीले गठन गरेको छानविन समितिले मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाउँदै छ । केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा अपरान्ह अध्यक्ष प्रचण्डसमक्ष प्रतिवेदन बुझाइने समितिका सदस्य रामचन्द्र झाले जानकारी दिए ।

के भेटियो छानविनमा ?

निर्वाचनलगत्तै बसेको एमाओवादी केन्द्रीय समिति बैठकले मतगणनाका क्रममा संस्थागत र संरचनागत धाँधली भएको निष्कर्षसहित नेता वर्षमान पुनको संयोजकत्वमा रामचन्द्र झा, रामनारायण विडारी, खिमलाल देवकोटा र जनकराज जोशी सदस्य रहेको समिति गठन गरेको थियो ।

स्रोतका अनुसार देशभर मतपेटिका ओसार्ने र मतगणनाका क्रममा भएका अस्वाभाविक गतिविधिलाई वैधता दिन निर्वाचन आयोगले पुरानो निर्देशिका परिवर्तन गर्दै रातारात १० बुँदे परिपत्र जारी गरेको निष्कर्ष समितिले निकालेको छ । यस्तै निर्वाचन सुरक्षार्थ परिचालित नेपाली सेनालाई तेस्रो घेरामा राख्ने पूर्वसहमतिविपरीत पहिलो घेरामा राखिनु, निर्वाचनपछि मतपेटिका ओसार्ने काममा सेना खटाइनु, मतदान केन्द्रबाट एक–दुई घण्टामा मतपेटिका सदरमुकाम पु¥याउन सकिने स्थानमासमेत अनावश्यक ढिलाइ गरेर घण्टौं लगाइनुले निर्वाचनमा धाँधली भएको तथ्य स्पष्ट गर्ने समितिले ठहर गरेको छ । सरकार र निर्वाचन आयोगका अधिकारीको मिलेमतोमा सुरक्षाकर्मीले आफू अनुकुलको पार्टी र उम्मेदवारलाई जिताउन बीच बाटोमा मतपेटिका परिर्वतन गरी परिणामलाई प्रभावित पार्ने काम गरिएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

माओवादीले धाँधली छानविनका लागि उच्चस्तरीय स्वतन्त्र छानविन समिति गठन गर्न सरकारसँग माग गर्दै आएको छ । छानविन समिति गठन नभएसम्म निर्वाचन आयोगले बोलाएका कुनै पनि बैठकमा नबस्ने र संविधानसभामा सहभागी नहुने एकीकृत माओवादीले अडान लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us