पराजयको मुख्य कारण पार्टी फुट : एमाओवादी

काठमाण्डु टुडे २०७० मंसिर १८ गते ३:४७ मा प्रकाशित

UCPN-Maoistकञ्चनपुर, १८ मंसिर–दोस्रो संविधानसभा निर्वाचनमा देशैभरि अनपेक्षित परिणाम व्यहोरेको एकीकृत नेकपा माओवादी कञ्चनपुरले पार्टी फुटका कारण जिल्लामा पराजय भोग्नुपरेको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रले जनताले मत दिए पनि सुरक्षाकर्मीको समेत सहभागीतामा संस्थागत धाँधली गरेर हराइएको निष्कर्ष निकालेको बेला कन्चनपुर जिल्ला पार्टीले भने फुटलाई पराजयको मुख्य कारण मानेको छ । संविधानसभा निर्वाचनमा पराजय भएपछि जिल्ला पार्टी कार्यालय कञ्चनपुरको समीक्षात्मक बैठकले पार्टी हार्नुको मुख्य कारण पार्टी फुट भएको निष्कर्ष निकालेको हो ।

एमाओवादी कञ्चनपुरका सचिव गगन सिंहले चारै निर्वाचन क्षेत्रमा पार्टी हार्नुको मुख्य कारण पार्टी फुट र संगठनभित्रको विचलन भएको बैठकले निष्कर्ष निकालेको जानकारी दिए । सचिव सिंहले भने, ‘बैठकका सहभागी सदस्यहरुले पार्टी फुट, आन्तरिक द्वन्द्व, नेता कार्यकर्ताहरुमा आएको विचलन र जनतासामु एमाओवादीले आफ्ना मुद्दा स्पष्टसँग बुझाउन नसक्नु पराजयको कारण हो भनेर धारणा राखे ।’

पार्टी फुटका मुख्य फाइदा काँग्रेसलाई भएको उस्को विश्लेषण छ । वैद्यका नेता तथा कार्यकर्ताहरुले गाउँगाउँमा एमाओवादीलाई भन्दा काँग्रेसलाई भोट हाल्न जनतासँग आग्रह गरेका कारण पनि एमाओवादीले मत नपाएको एमाओवादी नेताहरुको भनाइ छ ।

बैठकमा सहभागी एमाओवादी नेता गोपाल रसायलीले भने, ‘वैद्यका नेता तथा कार्यकर्ताहरुले चुनाव बहिष्कारका नाममा काँग्रेस–एमालेलाई सहयोग गरेका थिए, त्यसैले एमाओवादीतिर आउने मत उनीहरुले रोके ।’

कञ्चनपुरका जनतासमक्ष धन्यवाद दिन एमाओवादी कञ्चनपुर अब जनतासमक्ष जानेसचिव सिंहले जानकारी दिए ।

अघिल्लो संविधानसभा निर्वाचनमा जिल्लाका चारै निर्वाचन क्षेत्रमा विजयी भएको एमाओवादी दोस्रो संविधानसभा निर्वाचनमा चारै निर्वाचन क्षेत्रमा पराजित भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us