पहिलो इजलासबाट सभासदलाई अदालत आउन आदेश

काठमाण्डु टुडे २०७० मंसिर १७ गते १४:०२ मा प्रकाशित

CA electio 2070काठमाण्डु, १७ मंसिर– संविधानसभा अदालतले आफ्नो पहिलो इजलासमा सोलुखुम्बु जिल्लाबाट निर्वाचित सभासद बलबहादुर केसीसहितका विपक्षीहरूलाई १० दिनभित्र उपस्थित हुन आदेश दिएको छ ।

अदालतका अध्यक्ष कल्याण श्रेष्ठ तथा सदस्यद्वय गिरिशचन्द्रलाल र सुशिला कार्कीको इजलासले सो आदेश दिएको हो

आदेशमा ‘निवेदकको माग बमोजिम अन्तरकालीन आदेश मागको सम्बन्धमा छलफल गर्न दश दिनको समय दिई जो भएको उजुरी कारबाही मिसिलसहित उपस्थित हुनु भनी सूचना पठाई उपस्थित भएपछि पेसीमा चढाई नियमअनुसार पेस गर्नु’ भनिएको छ ।

सो निर्वाचनमा प्रमुख प्रतिस्पर्धी गोम्बु शेर्पाले निर्वाचनमा आफ्ना पार्टी प्रतिनिधि बिना मतदान गराइएको, मतदान केन्द्रमा समेत पार्टी प्रतिनिधिलाई जान नदिइएको, सेनाका अधिकारीले खसेको मतको विषयमा चासो लिएर धाँधली गरेकाले मतगणना स्थगन या अन्तरकालीन आदेश जारी गर्न माग गर्दै केही दिन अघि रिट दायर गरेका थिए ।

सो रिटमा निर्वाचित सभासद केसी, निर्वाचन आयोग, प्रमुख निर्वाचन अधिकृतलगायतलाई विपक्षी बनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us