
काठमाण्डु, १७ मंसिर– एकीकृत नेकपा माओवादी सहित १६ दलले निर्वाचन आयोगको बैठक बहिष्कार गर्ने निर्णय गरेको छ ।
निर्वाचनको मतपेटिका संकला तथा मतगणनाका समयमा धाँधली भएको भन्दै उच्चस्तरीय छानबिन आयोगको माग गरिरहेका एमाओवादी सहितका दलहरुले निर्वाचन आगोगले बोलाउने बैठकमा सहभागी नहुने अडान लिएका हुन् ।
सोमबार साँझ एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सो दलहरुको बैठकले छानबिन आयोग नबन्दासम्म निर्वाचन आयोगको बैठक बहिष्कार गर्ने निर्णय लिएको हो । बैठकले प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीमाथि पनि छानबिन हुनुपर्ने माग गरेको छ ।
धाँधलीका प्रमाणहरु फेला पर्दा पनि निर्वाचन आयोगले सुनुवाई नगरेको भन्दै आयोगका आयुक्तहरु पनि धाँधली गर्ने षडयन्त्रमा सहभागी भएको आशंकामा प्रमुख आयुक्त उप्रेतीलाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने संघीय समाजवादी पार्टीका महासचव राजेन्द्र श्रेष्ठले बताए ।