दुई शिक्षकको टाउकोमा १ सय १५ विद्यार्थी

काठमाण्डु टुडे २०७० मंसिर १७ गते ९:०१ मा प्रकाशित

kanchanpur_district_mapकञ्चनपुर, १७ मंसिर–  देखतभूली–१ ढक्का आरक्ष पीडित शिविरमा रहेको बालविकास केन्द्रमा दुई जना शिक्षकले १ सय १५ विद्यार्थीलाई अध्यापन गराउनुपरेको छ ।

शिक्षा नियमावलीअनुसार एक शिक्षक बराबर २० विद्यार्थी पठाउने मापदण्ड रहे पनि सो केन्द्रमा भने दुई शिक्षकले १ सय १५ विद्यार्थीलाई पढाउन बाध्य भएको केन्द्रले जनाएको छ । बालविकास केन्द्रकी शिक्षिका मदना धामीले १ सय १५ जना नियमित भर्ना भएर अध्ययन गरिरहेको बताए ।

शिक्षिका धामीका अनुसार गत शैक्षिक २०६९ मा बालविकास केन्द्रको स्थापनामा ७२ मात्रै विद्यार्थी रहेका थिए, भने हाल शिविरमा ११५ विद्यार्थी रहेका छन् । ‘‘नजिकैका विद्यालय नभएका विद्याथीको चाप बढेका कारण पठनपाठन गर्नसमेत मुस्कील परेको शिक्षिका धामीको भनाइ छ ।

चिसोको दिन छुट्टी
उचित भौतिक सामग्री, शैक्षिक सामग्रीको अभावैअभावका बीच बालविकास केन्द्र सञ्चालन गर्नुपर्ने बाध्यता भएको गुनासो अर्की शिक्षिका चन्द्रा भण्डारीको छ । शिक्षिका चन्द्रा भन्छिन् “उचित कक्षाकोठा नभएका कारण पनि बालकालिका बस्ने कठिन भइरहेको छ ।”

सो बाल विकास केन्द्रमा ४ देखि १४ वर्ष समूहका बालबालिका अध्ययनरत रहेको शिक्षिका भण्डारीले  बताउनुभयो । भवन नभएका कारण बढी चिसो भएको दिन छुट्टी दिने गरेका छौँ, शिक्षिका धामीले भनिन् ।

अन्त जान नसक्ने पढ्ने
जिल्ला शिक्षा कार्यालय कञ्चनपुरबाट दुईवटै मात्रै बाल विकास कोटा प्राप्त भएको बाल विकास केन्द्रका अध्यक्ष हीरासिंह भण्डारीले बताए । भण्डारीका अनुसार प्राप्त कोटामा दुई महिला शिक्षिकाको व्यवस्था गरेको छ । अभिभावकको दयनीय अवस्थाका कारण दुई शिक्षिकाको भरमा केन्द्र सञ्चालन गर्नुपरेको बाध्यता रहेको अध्यक्ष भण्डारीले बताए ।

१ सय ५० भन्दा बढी आरक्ष पीडितका बालबालिका नजिकैको चान्देवमा अध्ययनका लागि जाने गरेको अध्यक्ष भण्डारीले बताए । सानासाना बालबालिका अध्ययनका लागि टाढा जान नसक्ने भएकाले सो केन्द्रमा क्षमताभन्दा बढी बालबालिका पढाउन बाध्य रहेको भण्डारीको भनाइ छ ।

कोटा दिन सकिन्न
जिल्ला शिक्षा कार्यालय कञ्चनपुरका शिक्षा अधिकारी राकेश श्रीवास्तवले विद्यालय जानबाट वञ्चित भएका बालबालिकाका लागि छुट्टै कार्यक्रम ल्याउन सकिने बताए । उनले भने, “सो बस्ती अस्थायी भएका कारण पनि सरकारी कोटा दिन सकिने छैन, तर विद्यालय उमेर पुगेका तर विविध कारणबाट विद्यालय जानबाट वञ्चित भएकाका लागि वैकल्पिक कक्षाको व्यवस्था गर्न सकिन्छ ।”

विद्यार्थीको अत्यधिक चाप बढ्दै गएकाले पठनपाठन प्रभावकारी हुन नसकेको भन्दै अभिभावकले चिन्ता व्यक्त गरेका छन् । आफ्ना बालबालिकाका लागि राज्यले केही नगरेको आरक्ष पीडितको गुनासो छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us