नुनमा समेत विभेद

काठमाण्डु टुडे २०७० मंसिर १७ गते ८:४८ मा प्रकाशित

ayo noonजाजरकोट, १७ मंसिर– आयोडिनयुक्त नुन वितरणमा विभेद भएको भन्दै जाजरकोटका नागरिकले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । नुन वितरण केन्द्रमा कमिसनको खेल भएको भन्दै उपभोक्ताले सोमबार नुन वितरण कार्यसमेत अवरुद्ध गरेका छन् ।

तीन दिन हिँडेर सदरमुकामस्थित साल्ट कर्पोरेसन शाखामा आउँदा पनि नुन वितरकले आफूलाई विभेद गरेको उपभोक्ताहरुको गुनासो छ । खगेनकोट वडा–६ का विष्णु बटाला चिनेका मानिसलाई पहिले लाइनभन्दा अगाडि नै नुन दिएको बताउँछन् । उनी भन्छन्, ‘आफू लाइनमा अगाडि भएपनि भोलि आउनु भनेर दुःख दिन्छ । दुईदेखि तीन दिनसम्म नुन लिनकै लागि बस्नुपर्छ ।’

सदरमुकामस्थित नुन वितरण केन्द्रमा हप्तामा दुई दिन मात्र वितरण हुने नुन लिनका लागि दैनिक ७० जनाभन्दा बढी मानिसको भिड लाग्ने गरेको छ । जिल्लामा एउटा मात्र आयोडिनयुक्त नुन वितरण गर्ने शाखा भएको कारण नुन लिने मानिसको भिड लाग्ने गरेको शाखा प्रमुख भरत श्रेष्ठले बताए ।

नुन वितरण हुने दिन थाहा नपाउँदा ग्रामीणस्तरबाट आएका जनता सदरमुकाममा  दुईदेखि तीन दिनसम्म अनावश्यक बस्नुपर्ने बाध्यता भएको नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाहले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us