संविधान बनाउन चुनिएकाले भने–एक बर्ष भित्र पुल बनाइ छाड्छौं

काठमाण्डु टुडे २०७० मंसिर १७ गते २:०१ मा प्रकाशित

सोलुखुम्बु, १७ मंसिर–संविधानसभा निर्वाचनमा सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जिल्लाबाट प्रत्यक्षतर्फ निर्वाचित सभासदहरुले आगामी एक वर्षभित्रमा सुनकोसीमा पुल बनाइछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सञ्चारकर्मीसँग कुराकानी गर्दै उनीहरुले तीनवटै जिल्लाको मुख्य समस्याका रुपमा रहेको सुनकोसी नदीको पुल छिटोभन्दा छिटो सम्पन्न गर्नका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । खोटाङ जिल्लाको क्षेत्र नं. २ का सभासद विशाल भट्टराईले भौतिक योजना मन्त्रालयमा धर्ना दिएरै भए पनि पुल निमार्णका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

यस्तै क्षेत्र नं १ खोटाङबाट निर्वाचित नेकपा एमालेका पाँच कर्ण राई (पिके) ले जिल्लाका नागरिक हितको कार्यका लागि आफ्नो मुख्य योजना नै सुनकोसीमा पुल निर्माण गर्नु रहेको बताए । राईले संसद्मा आफ्नो पहिलो उपस्थिति नै पुल निर्माणको विषयमा कुरा उठाउने रहेको प्रष्ट पारे ।

यस्तै ओखलढुङ्गा क्षेत्र नं २ का विजेता रामहरि खतिवडा र क्षेत्र नं १ का यज्ञराज सुनुवारले आफ्नो तन मन र सोच नै सुनकोसीमा पुल बनाउनेतर्फ केन्द्रित रहेको बताए ।

यसअघि सोलुखुम्बुबाट निर्वाचित बन्नुभएका नेपाली काँग्रेसका बलबहादुर केसीले पनि एक वर्षभित्रमा सुनकोसीमा पुल बनाइछाड्ने प्रतिबद्धता जनाएका थिए ।

सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुर र ओखलढुङ्गा जोड्ने सुनकोसी नदीको पक्की पुल निर्माण सुरु गरिएको एक दशकभन्दा बढी भए पनि पुल निर्माणको काम अझै सकिएको छैन । राजनीतिक दलका नेताहरुको मिलेमतोमा ठेकेदारले विभिन्न बहाना बनाएर काम रोकेपछि निर्माण कार्य अलपत्र छ । सुनकोसीमा पुल नहुँदा उदयपुरको कटारी तथा काठमाडौँबाट नेपालथोक हुँदै ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुसम्म चल्ने यातायात सञ्चालन हुन सकेको छैन । पुल नबनेका कारण यी तीनवटा जिल्लामा दैनिक उपभोग्य सामग्री तथा निर्माणलगायतका सामग्रीको चर्को मूल्य रहेको छ ।

ठेकेदार कम्पनी वाइबा कन्स्ट्रक्सनसँग तत्कालीन सरकारले २०५९ साल असार २८ गते निर्माण सुरु गरी २०६३ साल असार मसान्तभित्र सम्पन्न गर्न सम्झौता गरेको थियो । निर्माण कम्पनीले सम्झौतापछि तोकिएको अवधिभित्र सडक विभागले निर्माणस्थल निश्चित नगरेकोलगायतका समस्या देखाएर काम अलपत्र छोड्दै आएको छ ।

सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङबाट यस पटक विजयी भएकाहरुले एकमुख भएर सुनकोसीमा पुल बनाउने प्रतिबद्धता जनाएका कारण यस पटक सुनकोसीमा पुल बन्नेमा यस क्षेत्रका बासिन्दा आशावादी देखिएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us