शृङ्खला जीत पछि हार र हार पछि जीतको

काठमाण्डु टुडे २०७० मंसिर १६ गते १६:३७ मा प्रकाशित

काठमाण्डु, १६ मङ्सिर–एकीकृत नेकपा (माओवादी)का नेता डा बाबुराम भट्टराईले हालै सम्पन्न संविधानसभाको निर्वाचनमा आफ्नो पार्टीले  प्रतिकूल, अप्रत्यासित र अस्वाभाविक नतिजा प्राप्त गरे पनि विचलित र हतास नहुने बताएका छन । baburam_250
नेता भट्टराईले आइतवार प्रेस विज्ञप्ति प्रकाशित गरी निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि परिवर्तन, अग्रगमन, न्याय, समानता र समृद्धिको मार्गमा निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गरेका छन । उनले पार्टी समर्थक र शुभचिन्तकहरूलाई हतास नहुनसमेत आग्रह गरेका छन । नेता डा भट्टराईले भनेका छन, ‘जीत पछि हार र हार पछि जीतको लामो शृङ्खला पार गरेर मात्रै सत्य र न्यायको जीत हुन्छ भन्ने इतिहासको नियमलाई नभुलौँ ।’
चुनौतीलाई अवसरको रूपमा ग्रहण गरेर मात्रै जीवनमा सफलता प्राप्त हुन्छ भन्ने तथ्यलाई दह्रोसँग आत्मसात् गर्नुपर्ने र आन्तरिक कमजोरी माथि टेकेर नै प्रतिपक्षी वर्ग र शक्तिले षड्यन्त्रपूर्ण हर्कत गर्न सक्छ भन्ने बुझेर तदनुरूप रणनीति निर्माण गर्नुपर्ने उनले बताएका छन ।
शान्ति र संविधानसभाको बाटोबाट प्राप्त उपलब्धिको रक्षा गर्दै अग्रगमनको दिशामा अघि बढ्नु नै तत्कालको सही कार्यदिशा हो भन्ने कुरामा दृढ रहनसमेत उनले सबैलाई आग्रह गरेका छन । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us