सहकार्य हिमालय क्षेत्रको विकास र उत्थानका लागि

काठमाण्डु टुडे २०७० मंसिर १६ गते १५:१९ मा प्रकाशित

काठमाण्डु, १६ मङ्सिर–राष्ट्रपति डा. रामवरण यादवले हिमालय क्षेत्रको विकास र उत्थानका लागि यस क्षेत्रका मुलुकहरुको सहकार्य आवश्यक रहेको बताएका छन ।
राष्ट्रिय योजना आयोग र एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) को  आयोजनामा  हिन्दूकुश हिमालय क्षेत्रमा गरिबी र जोखिमसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण जोखिम बढेको र त्यस खालका जोखिम नियन्त्रणका लागि यस क्षेत्रका मुलुकहरुको सहकार्य आवश्यक रहेको बताए ।
सम्मेलनमा सन् २०१५ पछि तर्जुमा गरिने दिगो विकास लक्ष्यमा पर्वतीय राष्ट्रहरूको एकीकृत प्रस्ताव तयार पारिने छ ।   Mountain
एउटा मात्रै मुलुकको प्रयासमा कुनै पनि समस्या समाधान हुन नसक्ने र त्यसमा सबैको उत्तिकै साथ र सहयोग रहनुपर्नेमा जोड दिँदै उनले हिमालय क्षेत्र विश्वका लागि अनुपम क्षेत्र रहेकाले यसको संरक्षण गर्नुपर्ने बताए ।
हिमालय क्षेत्रमा बसोबास गर्ने नागरिक अत्यन्तै मेहनती, उदार र अनुकूल हुने भएकाले उनीहरुको जनजीवन परिवर्तनका लागि राज्य र यसका सरोकारवाला निकायको उत्तिकै महत्वपूर्ण भूमिका रहने उनले बताए ।
जलवायु परिवर्तन र विश्वव्यापी रुपमा बढेको तापक्रमका कारण हिमाली क्षेत्रको जनजीवन कष्टकर हुँदै गएको भन्दै उनले त्यसलाई न्यून गर्न ठोस कार्ययोजनाको जरुरत रहेको बताए ।
केहीदिन अघि सम्पन्न संविधानसभा निर्वाचनले मुलुकलाई नयाँ राजनीतिक क्षितिजमा लगेको र शान्ति तथा समृद्धिको मार्ग प्रशस्त गरेको उनले बताए । नेपाल सरकार हिमालय क्षेत्रको विकास र उत्थानका लागि प्रतिवद्ध रहेको जनाउँदै उनले आगामी दिनमा विश्व्यापी मानक र संयन्त्रलाई अवलम्बन गर्दै हिमालय क्षेत्रको उत्थान र विकासमा लाग्ने विश्वास व्यक्त गरे ।
सहश्राब्दी विकास लक्ष्य पूरा गर्दै सन् २०१५ पछिको अवधारणा तयार पार्न यो सम्मेलन सहयोगीसिद्ध विश्वास उनले प्रकट गरे ।
सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. रवीन्द्र शाक्यले नेपाल सरकार हिमालय क्षेत्रको विकास र उत्थानका लागि प्रतिवद्ध भएर लागेको बताउँदै तयार हुँदै गरेको १३ औँ त्रिवर्षीय योजनामा ठोस योजना बन्ने बताए ।
दीर्घकालीन रणनीति तयार गरेर गरिबी निवारणका लागि काम गरिने स्पष्ट पार्दै उपाध्यक्ष शाक्यले यो सम्मेलन वस्तुगत र वैज्ञानिक योजना तयार पार्न सहयोगीसिद्ध हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा जर्मन सहयोग नियोग (जिआइजेड)का देशीय निर्देशक रोनाल्ड स्टीइरर पर्वतीय क्षेत्रको विकासका लागि यो सम्मेलन महत्वपूर्ण ठहर्ने बताए ।
आइतबारदेखि सुरु भएको सम्मेलन यही मङ्सिर १९ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा इसिमोडका सदस्य राष्ट्रहरू नेपाललगायत अफगानिस्तान, बङ्गलादेश, भुटान, चीन, भारत, म्यान्मार र पाकिस्तानका नीति निर्माता, सरकारी, निजी क्षेत्रका साथै अन्तर्राष्ट्रिय प्रमुख दातृ निकायहरूका प्रतिनिधिको सहभागिता छ ।
सन् २०१५ मा सहश्राब्दी विकास लक्ष्यको अवधि समाप्त भएपछि तर्जुमा गरिने विकास एजेन्डामा यस क्षेत्रका राष्ट्रहरूको सामूहिक प्रस्ताव तयार गर्न यो सम्मेलन उपयोगी हुने आयोजकले बताएको छ  ।
सम्मेलनमा गरिबी र जोखिमताका विषयमा विभिन्न देशका विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
विश्वका अन्य देशको तुलनामा पाँच प्रतिशतले बढी गरिबहरूको बसोबास रहेको यस क्षेत्रमा करिब २१ करोड १० लाख मानिस गरिबीको रेखामुनि बाँचिरहेका छन् । विश्वमा अति गरिब रहेका एक अर्ब मानिसमध्ये २६ देखि ३१ प्रतिशत मानिस यही क्षेत्रमा बसोबास गर्छन् र यहाँ सात जनामा एकजना कुपोषित छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us