पतिले खन्याए पत्नीको शरिरमा तातो खोले

काठमाण्डु टुडे २०७० मंसिर १६ गते १३:४६ मा प्रकाशित

women voilenceबारा– १३ वर्षको उमेरमा विवाह गरेर २३ वर्षसँगै बिताएकी सरस्वती भारतीलाई आफ्नै पतिले जीउमा तातो खोले खन्याउँदा उनी गम्भीर घाइते बनेकी छिन् ।

बारा, डुमरवाना–४ भारतीचोककी ३५ वर्षीया सरस्वतीलाई ४५ वर्षीय पति थलबहादुरले शनिबार राति घरमा जुठो लोटाउँदै गर्दा भैँसीको लागि पकाएको खोले खन्याई घाइते बनाएका हुन् । तीन वर्षयता पतिबाट हिंसा भोग्दै आएकी सरस्वतीले मदिराले मातिएका पतिले तातो खोले खन्याई दिएपछि न्यायका लागि आज प्रहरी कार्यालयमा पुगेकी छिन् ।

छिमेकी महिलासँगै इलाका प्रहरी कार्यालय सिमरा आएकी सरस्वतीले पतिबाट लगातार हिंसा भोग्दै आएको गुनासो पोखिन् । सरस्वतीले पतिविरुद्ध प्रहरीमा सार्वजनिक मुद्दा दर्ता गराएकी छिन् ।

तीन सन्तानकी आमा सरस्वतीले दुई छोरी र एक छोरामाथिसमेत अत्याचार गर्ने गरेको भन्दै पतिको अत्याचारको सहन नसकेर १७ वर्षकै उमेरमा एक वर्षअघि जेठी छोरीको विवाह गरिदिएको बताइन् । आर्थिक अवस्था दयनीय भएका कारण घर चलाउन मजदुरी गर्दै आएकी सरस्वतीले शनिवार साँझ पनि घर बनाउने ठाउँमा ईंट्टा बोकेर फर्केकी थिइन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us