एमाले उम्मेदवार मार्ने एमालेकै नेता थुनामा

काठमाण्डु टुडे २०७० मंसिर १६ गते १६:३७ मा प्रकाशित

Ramchandra-Pyasi-Kushbahaबारा, १६ मंसिर– बारा क्षेत्र नं ४ का एमाले उम्मेदवार मोहम्मद आलमको हत्या अभियोगमा पूर्वसभासदसहित तीन जनालाई थप अनसन्धानका लागि थप हिरासतमा परेका छन् ।

जिल्ला अदालत बाराले आइतबार एमालेकै पूर्वसभासद रामचन्द्र प्यासी कुशवाह, भारतीय मुलका अतिक खान र राजु श्रीवास्तवलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । बिहिबारदेखि न्यायाधीस तेपेन्द्रप्रसाद शर्माको एकल इजलासमा सुनुवाई सुरु भएको थियो ।

प्रत्यक्षतर्फ एमालेले उम्मेदवार बनाएपछि असोज १८ गते आलमको उनीहरुले हत्या गरेको अभियोग छ । बाराको परवानीपुरस्थित चसावतीमा आलमलाई भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली हानेका थिए । पूर्वसभासद कुशवाहको निर्देशनमा आलमको हत्या भएको प्रहरी दावी छ ।

गोली लागेर घाइते भएका आलमको उपचारका क्रममा काठमाडौंको शिक्षण अस्पतालमा निधन भएको थियो । उनको मृत्युपछि सो स्थानमा उनकै पत्नीलाई एमालेले उम्मेदवार बनाएको थियो । पत्नी नजमा खातुनले चुनाव जितेकी थिइन् ।

अभियुक्तहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले कात्तिक ९ गते पक्राउ गरेको थियो ।

हत्यामा संलग्नलाई युवा सङ्घले प्रहरीमा बुझायो
पाँचथरको नागी–५ स्थित यशप्रसाद तुम्वापोको घरमा बिहेको निम्ता मान्न गएका सोही गाविस ६ का ५३ वर्षीय गङ्गाराम बराइलीको हत्यामा संलग्न एक जनालाई युवा सङ्घका कार्यकर्ताले समाती प्रहरीलाई बुझाइदिएका छन् ।
बराइलीको हत्यापछि फरार रहेका सोही गाविसका २२ वर्षीय शरण काम्बाङलाई आइतवार जिल्ला प्रहरी कार्यालय पाँचथरमा बुझाइएको हो ।
काम्बाङलाई जिल्लाको ओयाम–९ बाट नियन्त्रणमा लिइएको युवा सङ्घ पाँचथरका अध्यक्ष बाबा मेन्याङबोले जानकारी दिए । हत्यामा संलग्न अर्का युवक अझै फरार छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us