आफ्नै दुई मन्त्रालयबीच सहकार्य गराए मन्त्रीले

काठमाण्डु टुडे २०७० मंसिर १६ गते ९:४२ मा प्रकाशित

Bidhyadhar mallikकाठमाण्डु, १६ मंसिर- सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयले स्थानीय स्वास्थ्य निकायको क्षमता थप सुदृढीकरणका लागि एकआपसमा सहकार्य गर्ने भएका छन् ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य मन्त्रालयका सचिव डा प्रवीण मिश्रले स्थानीय स्वास्थ्य शासन सुदृढीकरणसम्बन्धी ती मन्त्रालयद्वारा तयार पारिएको सहकार्यको खाकामा संयुक्त रुपमा आइतबार हस्ताक्षर गरेका छन् । दुबै मन्त्रालयको कार्यभार मन्त्री विद्याधर मल्लिकले सम्हालेका छन् ।

ती दुवै मन्त्रालयका मन्त्री विद्याधर मल्लिकको उपस्थितिमा भएको सो सहकार्यको मुख्य उद्देश्य स्थानीय निकायमा प्रदान गरिने स्वास्थ्य सेवालाई थप प्रभावकारी तथा गुणस्तरीय  बनाउने रहेको छ । स्थानीय स्वायत्त शासन ऐन, २०५५ र नियमावली २०५६ अनुरुप कृषि, स्वास्थ्य, वन र शिक्षासम्बन्धी सेवाग्राही निकायलाई स्थानीय निकायले पनि जिम्मेवारी, नेतृत्व, व्यवस्थापनको स्वामित्व तथा सञ्चालन गर्न ती दुई मन्त्रालयले सहकार्य गर्न लागेका हुन् ।

स्थानीय तहको आवश्यकतामा आधारित भई स्वास्थ्य सेवा प्रदान गर्ने, व्यवस्थापन गर्ने र स्थानीय निकायले नेतृत्व लिने पद्धति सुदृढ गरी सेवाग्राहीप्रति उत्तरदायित्व अभिवृद्धि गर्ने सो  सहकार्यको खाकामा रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us