सबैभन्दा बढी पुरस्कार भएको फुटबल सोमबारेदेखि

काठमाण्डु टुडे २०७० मंसिर १६ गते ९:२९ मा प्रकाशित

ANFAकाठमाण्डु, १६ मंसिर– नकआउट फुटबल प्रतियोगितामा सर्वाधिक पुरस्कार राशि भएको एनसेल कप फुटबल प्रतियोगिता सोमबारदेखि राजधानीमा सञ्चालन हुने भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने सो प्रतियोगितामा ‘ए’ डिभिजनमा रहेका १४ क्लबमध्ये १२ क्लबले प्रतिस्पर्धा गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । प्रतियोगितामा गत वर्षको उपविजेता रानीपोखरी कर्नर टिम (आरसिटी) र न्युरोड टिम (एनआरटी) ले भने सो प्रतियोगितामा सहभागिता नजनाउने भएका छन् ।

१२ टिम ४ समूह
सो १२ टिमलाई चार समूहमा विभाजित गरेको छ जसमध्ये समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, सङ्कटा क्लब र जाउलाखेल युथ क्लब रहेका छन् भने समूह ‘बी’मा फ्रेन्डस क्लब मच्छिन्द्र क्लब र हिमालयन शेर्पा क्लब छन् ।

यस्तै समूह ‘सी’मा थ्रीस्टार क्लब, नेपाल प्रहरी क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) क्लब छन् भने समूह ‘डी’ मा मनाङ–मस्र्याङ्दी क्लब, सरस्वती युथ क्लब र ब्वाइज युनियन क्लब रहेका छन् ।

१५ लाख पुरस्कार
प्रतियोगिताको विजेता समूहले १५ लाख, उपविजेताले रु सात लाख र सेमिफाइनलमा पुग्ने दुई टिमले जनही १ लाख ५० हजार पुरस्कार, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई जनही ७५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने एकजना सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगितामा भिआइपितर्फ ३ सय र साधारण प्याराफिटतर्फ १ सय टिकट निर्धारण गरेको एन्फाले जनाएको छ ।

उद्घाटनमा जावलाखेल र आर्मी
सोमबारको उद्घाटन खेलमा समूह ‘ए’मा रहेको त्रिभुवन आर्मी क्लबले जाउलाखेल युथ क्लबको सामना गर्नेछ भने दोस्रो खेल समूह ‘बी’ मा रहेको फ्रेन्डस क्लब र हिमालयन शेर्पा क्लब आमनेसामने हुनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us