एमाओवादी हार पत्ता लगाउन वैद्य माओवादीमा छानविन !

काठमाण्डु टुडे २०७० मंसिर १६ गते ५:३७ मा प्रकाशित

Prachanda and Kiranकाठमाण्डु, १६ मंसिर–एकीकृत नेकपा माओवादी दोस्रो संविधानसभा चुनावबाट तेस्रो स्थानमा खुम्चिनुका कारणबारे बिभिन्न बहस र चर्चा सेलाएको छैन । एमाओवादीकै भाषामा भन्नु पर्दा जनताले भोट दिए पनि षडयन्त्रपूर्वक हराइएको हो । चुनावमा षडयन्त्र, जालझेल हुनु स्वाभाविक हो । हार जितमा यसले ठूलो अर्थ राख्छ । २०६४ सालको चुनावमा सबैभन्दा ठूलो पार्टी बनाउने मतदाता र कार्यकर्ताको चित्त बुझाउन नसक्नु हारको प्रमुख कारण हो भन्नेहरुको पंक्ति ठूलो छ । एमाओवादीको हारमा उसँग छुट्टीएको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीको भुमिकाले पनि बल पुर्याएको मानिएको छ । वैद्य माओवादीले चुनाव बहिस्कार घोषणा गर्दै ठाउँ ठाउँमा बम पड्काउने, बाटो अबरुद्ध पार्ने, निर्वाचन सामग्री लुट्ने जस्ता गतिविधि गरेको थियो । त्यसैले चुनावमा सुरक्षा संवेदनशीलताको कारण देखाउँदै सेना परिचालन गरियो ।

वैद्य माओवादीले आफूलाई चुनावमा भाग लिन नदिने र सेना परिचालन गर्ने मुख्य योजनाकार एमाओवादी र त्यसको नेतृत्वकर्ता अध्यक्ष प्रचण्ड भएको निष्कर्ष निकाल्यो । प्रतिशोधको भावनाबाट वैद्य माओवादीले आन्तरिक रुपमा एमाओवादी र त्यसको नेतृत्व प्रचण्डलाई चुनावमा हराउने रणनीति लियो । त्यसैअनुसार चलखेल सुरु भयो । भनिन्छ काठमाण्डु क्षेत्र नम्बर १० बाट प्रचण्डलाई हराउन करोडौं खर्च भएको थियो । सोही क्षेत्रका एमाले उम्मेदवार सुरेन्द्र मानन्धरले यस कुराको खुलासा गरिसकेका छन् । प्रचण्डलाई हराउन काँग्रेस–एमालेबाट मात्र नभइ वैद्य माओवादीबाट पनि लाखौं खर्च भएको भन्ने विषयले अहिले राजनीतिक वृत्तमा निकै चर्चा पाएको छ । वैद्य माओवादीले यसबारे पार्टी भित्र छानविन गर्ने तयारी गरेको छ । ‘एमाओवादीलाई हराउन हाम्रो पार्टीले पनि भुमिका खेल्यो भन्ने कुराले हामीलाई गम्भीर बनाएको छ,’ वैद्य माओवादीका एक पोलिटब्युरो सदस्यले भने, ‘सत्य के हो पार्टीले छानविन गर्नुपर्छ । पार्टीमा हामी यसबारे कुरा उठाउँछौं ।’

छानविन समिति बनाउने चर्चा

कीर्तिपुर क्षेत्रमा प्रचण्डलाई हराउन वैद्य माओवादीबाट ४० लाख रुपैयाँ बाँडिएको चर्चा छ । यसैगरी युवा संगठन जनस्वयम् सेवक व्युरोका प्रमुख उदयबहादुर चलाउने ‘दीपक’ले पनि काठमाण्डु क्षेत्र नम्बर १० मा दुई हजार ७ सय जनाको लिष्ट तयार पारेर सबैलाई काँग्रेस उम्मेदवारलाई भोट हाल्न निर्देशन दिएको कुराले वैद्य माओवादीभित्र चर्चा छ । यसैगरी नेवाः राज्य समितिको तर्फबाट भन्दै एमाओवादीलाई भन्दा काँग्रेस–एमालेलाई भोट हाल्न आफ्ना कार्यकर्तालाई अपील गरिएको शंकास्पद विज्ञप्ति सार्बजनिक भएको थियो । यद्यपी सो विज्ञप्ति नक्कली भएको भनेर वैद्य माओवादीले खण्डन गरिसकेको छ ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भक्तपुरमा पत्रकारसँग कुरा गर्दै ‘वैद्य माओवादीको भोटले काँग्रेस पहिलो पार्टी बनेको’ अभिव्यक्ति दिएका थिए ।

यी सबै कुराले एमाओवादीलाई हराउन वैद्य माओवादीबाट केही न केही भुमिका खेलिएको भन्ने कुरा झल्काउने जानकारहरु बताउँछन् । त्यसैले आफ्नो पार्टीमा लागेका आरोपबारे छानबिन गर्न एक समिति बनाउनेबारे वैद्य माओवादी भित्र अनौपचारिक बहस चलिरहेको स्रोतले जनाएको छ ।

निर्वाचन परिणाम लगत्तै माओवादी अध्यक्ष मोहन वैद्यले एमाओवादी अध्यक्ष प्रचण्डलाई भेटेर दुःख व्यक्त गरेका थिए । वैद्यले प्रचण्डलाई भनेका थिए, ‘चुनावमा तपाईंहरुको स्तर खस्किन्छ भन्ने त थाहा थियो तर, यति धेरै होला भन्ने सोंचेका थिएनौं । अहिलेको अवस्थाबारे हामी दुःखी छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us