देशभरका शिवालयमा बाला चतुर्दशी मेला

काठमाण्डु टुडे २०७० मंसिर १६ गते ३:२६ मा प्रकाशित

काठमाण्डु, १६ मंसिर– बाला चतुर्दशीको अवसरमा काठमाण्डुको पशुपति लगायतका शिवालयमा आइतबार मेला लागेको छ । बाला चतुर्दशीमा पितृको सम्झनामा आइतबार राति बत्ति बाल्ने र सोमबार विहान सतबिज छर्ने गरिन्छ । आइतबार रातभर जाग्राम बसेर भजनकिर्तन गरिन्छ ।

मेला भर्न आएकाहरुलाई विशेष व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । राति जाग्राम बस्नेहरुका लागि त्रिपाल, सुत्नकालागि पराल र आगो बाल्ने दाउराको व्यवस्था गरिएको छ । सतबिज छर्ने र जाग्राम बस्नेहरुले अग्रिम जानकारी गराउनु पर्ने कोषले जनाएको छ ।

आफ्नो परिवारभित्रका सदस्यको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै सतबीज छर्ने गरिन्छ । धान, जौं, तिल, गहुँ, चना, मकै, कागुनो, मूला मिश्रीत सात प्रकारका बीऊलाई सतबीज भनिन्छ । सतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने र पूण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

सतविज १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरुप र किराँतेश्वरीमा छर्ने गरिन्छ ।

सतविज छर्न मुलुकका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनको बिहानैदेखि पशुपतिमा ठूलो भिड लागेको छ । त्यस्तै तनहुँ र चितवनको संगमस्थल देवघाट र नवलपरासीको त्रिवेणीमा सतबीज छर्नेको विहानैबाट घुईचो लागेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us