बाघ समात्न आधा दर्जन हात्ती

काठमाण्डु टुडे २०७० मंसिर १६ गते २:४८ मा प्रकाशित

4.1.1रत्ननगर, १६ मंसिर । चितवनको माडीको मानव बस्तीमा आतङ्क मच्चाउँदै आएको बाघलाई नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जले प्राविधिकसहितको टोली परिचालन गरेको छ । लगातार बस्तीमा पसेर बाघले घरपालुवा जनावरलाई आक्रमण गर्न थालेपछि नियन्त्रणका लागि शनिबार रातिदेखि टोली परिचालन गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत एवम् प्रवक्ता टीकाराम पौडेलले जानकारी दिए ।

निकुञ्जले आधा दर्जन हात्तीसहित वरिष्ठ पशु चिकित्सक डा. कमल गैरे नेतृत्वको टोली परिचालन गरेको हो । टोलीमा प्राविधिकसहित १२ जना सहभागी छन् । बाघलाई नियन्त्रणमा लिएर घाइते भए आवश्यक उपचार गर्ने र सामान्य अवस्थामा भए निकुञ्जको भित्री भागमा लगेर छाड्न टोलीलाई निर्देशन दिइएको पौडेलले जानकारी दिए ।

चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने माडी, गर्दी बघौडा, अयोध्यापुरीको देवेन्द्रपुर र त्यसको दक्षिण क्षेत्रको वस्तीमा विगत लामो समयदेखि बाघले आतङ्क मच्चाइरहेको छ । बाघले कात्तिक महिनामा मात्रै करिब १० पशु चौपाया घरमै आएर खाइसकेको छ । दुई दिनअघिमात्रै माडीका शेरबहादुर श्रेष्ठको दुहुनो भैँसी बाघले खाएको थियो ।

बाघ नियन्त्रणका लागि चितवनमा दोस्रो पटक टोली परिचालन गरिएको हो । यसअघि हात्ती नियन्त्रणका लागि टोली परिचालन गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us