संविधानसभामा महिला सहभागिता बढाउन माग

काठमाण्डु टुडे २०७० मंसिर १६ गते २:१७ मा प्रकाशित

विराटनगर, १६ मंसिर–दोस्रो संविधानसभामा महिलाको सहभागिता बढाउन महिला नेत्री र अधिकारकर्मीहरुले माग गरेका छन् । विराटनगरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा महिला अधिकारकर्मी र राजनीतिक दलबाट समानुपातिकतर्फका उम्मेदवारहरुले प्रत्यक्ष निर्वाचनबाट संविधानसभामा जाने महिला सभासदको सङ्ख्या अत्यन्तै न्यून रहेको भन्दै समानुपातिक र मनोनितमा बढीभन्दा बढी महिला सहभागिता सुनिश्चित गराउन माग गरेका हुन् ।

नेकपा (एमाले)को तर्फबाट समानुपातिकतर्फको सूचीमा रहेकी उम्मेदवार डा. शिवमाया तुम्बाहम्फे, फोरम नेपालकी रञ्जु बर्मा र अधिकारकर्मी मन्जिता उपाध्यायलगायतले प्रत्यक्षमा महिलाको सहभागिता ४.१७ प्रतिशतमात्र भएकाले अब बढीभन्दा बढी संख्यामा महिला सहभागिता गराएर महिलाको अधिकार सुनिश्चित गराउन राजनीतिक दलहरुलाई आग्रह गरे ।

महिला उम्मेदवार र अधिकारकर्मीहरुले समानुपातिकमा कुल संख्यामा एक तिहाई र मनोनिततर्फ समानुपातिकबाट अपुग भएको संख्या पुर्याउने गरी मनोनित गर्न आग्रह गर्नुभयो । उनीहरुको भनाइ छ, ‘ठूला दलहरु एमाले र काँग्रेसले राजनीतिक इच्छा शक्ति देखाएमा संविधानसभामा महिलाको संख्या सन्तोषजनक हुन सक्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us