
बझाङ, १६ मङ्सिर–बाजुराको तिपाडाबाट धनगढी जाँदै गरेको मालिका यातायातको ना ५ ख ७८९ नम्बरको यात्रुबहाक बस डडेल्धुराको गाँखेत–८ मेलखर्कमा आइतबार बिहान करिब ५ बजे दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
दुर्घटनामा सातजनाको अवस्था गम्भीर रहेको र बाँकी २३ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । मृत्यु हुनेमा नौ पुरुष र दुईजना महिला रहेका छन् । घाइतेहरुमा बाजुराको वाधु–६ का राजबहादुर खत्री, बाधु– ७ कै ३८ वर्षीय सब्बल लुहार, ५२ वर्षीय बिरु अधिकारी, १४ वर्षीय भक्त सार्की, बाधु–७ कै १७ वर्षीय दिनेश अधिकारी, ३५ वर्षीय धनु सार्की, ४८ वर्षीय गौरी रावल छन् ।
यस्तै गोत्री–७ का २० वर्षीय जयमान दमाईं २१ वर्षीय उज्ज्वल दमाईं र सोही गाविस–८ का ६० वर्षीय अर्जुन ओड, वडा नं. ७ का चिने दमाई(३३ वर्ष), मुगु भैरवस्थान गाविस–३ का कर्मराज जैसी(१६ वर्ष), सोही गाविस–६ का कर्ण सार्की(२९ वर्ष), मानबहादुर सार्की, मुगु धैना–५ का अमृत सार्की, मार्तडीका झरना खडका(१९ वर्ष), राजन खडका(१९ वर्ष), प्रमिला पण्डित(८ वर्ष), प्रेमराज पण्डित(२१ वर्ष), कृष्णराज पण्डित(६० वर्ष), निरा पण्डित(२१ वर्ष), धुनदेवी पण्डित(३६ वर्ष), मार्तडी–७ का विनोद विक, पाण्डुसैन–२ का गोर्ख कडारा(२१ वर्ष), डोटी गजरा–२ का अमर कुँवर, बाजुरा कैलाशमाण्डौँ–८ का खडक थापा(२० वर्ष), पाण्डुसैन–२ का १८ वर्षीय चिने कडारा, मुगु धैना गाविससका कर्णजित सार्की र कञ्चनपुर–७ का गणेश वडू घाइते भएको बाजुराका गंगराज पण्डितले बताए । घाइतेहरुको अहिले डडेल्धुरा र धनगढीमा उपचारका लागि पठाइएको छ भने मृतकको सनाखत हुन सकेको छैन ।
प्रहरी निरीक्षक केशव बोहराका अनुसार स्याउले ट्राफिक पोस्टमा चेकजाँच गर्दा ३६ जनाको प्रवेश गरेको भए पनि गाडीमा ४० जना यात्रु रहेका थिए । गाडी सडकभन्दा करिब ३०० मिटर तल खसी क्षतिग्रस्त अवस्थामा रहेको छ । गाडी चालक भने फरार रहेका छन् ।
यसैबीच धादिङको बैरेनीमा गएराती ट्रक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । बैरेनीबाट पाल्चोक जाँदै गरेको बा १ ख २५३५ नम्बरको ट्रक दुर्घटना हुँदा स्थानीय रामशरण विकको घटनास्थलमै मृत्यु भएको हो । बसमा ४५ जना यात्रु रहेको अनुमान छ । घटनास्थल डडेलधुरा सदरमुकामबाट झण्डै २२ किलोमिटर टाढा पर्दछ ।