बङ्गलादेशमा आन्दोलन जारी, दुईको मृत्यु

काठमाण्डु टुडे २०७० मंसिर १५ गते १३:२९ मा प्रकाशित

ढाका, १५ मंसिर– बङ्गलादेशमा जारी रहेको सरकार विरोधी आन्दोलनका क्रममा पछिल्लो समयमा शनिबार कम्तीमा पनि दुईजनाको ज्यान गएको छ ।

प्रदर्शनका क्रममा प्रहरीले प्रहार गरेको गोली लागेर ती नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ । प्रदर्शन हिंसात्मक भएको भन्दै प्रहरीले रबरका गोली प्रहार गरिरहेको छ । बङ्गलादेशको प्रहरीले शनिबार दिएको जानकारीअनुसार शनिबार पनि बङ्गलादेशमा सरकारका विरुद्धमा प्रदर्शन जारी रहेको छ । प्रदर्शनको नियन्त्रणका लागि प्रहरीले गोली प्रहार गर्न बाध्य भएको शनिबार जानकारी दिएको छ ।

बङ्गलादेशको प्रमुख विपक्षी दल बङ्गलादेश नेशनालिस्ट पार्टी (बिएनपी) को अगुवाईमा त्यहाँका १८ पार्टीले सो विरोध प्रदर्शन जारी राखेका छन् । उनीहरुले सो प्रदर्शनमा प्रधानमन्त्रीको राजिनामाको माग गरिरहेका छन् । बङ्गलादेशका विपक्षीहरुले पछिल्ला केही दिनयतादेखि पुनः अर्काे चरणको आम हड्तालको आह्वान गरेका राजधानी ढाकाबाट प्राप्त समाचारमा जनाइएको छ ।bangla_hasina_khaleda

आगामी जनवरी ५ तारिखमा हुन लागेको आम निर्वाचनको विरोधमा सो आन्दोलन गरिएको हो । प्राप्त समाचारमा उनीहरुले आम हडताललाई हिजोसम्म नै जारी राखेका थिए । ती दलका कार्यकर्ताहरुले पसल, कल कारखाना एवम् विद्यालयहरु बन्द गराएका छन् ।

सरकारले एकलौटी निर्वाचन गराउन खोजेको भन्दै उनीहरुले सो विरोध थालेका हुन् । उनीहरुले निर्वाचनका लागि चुनावी सरकार गठन गर्न माग गरेका थिए । गत हप्तामात्र उनीहरुले दुई दिने हड्ताल गरी ठप्प पारेका थिए । उनीहरुले बर्तमान सरकारले आगामी सन् २०१४ को आम निर्वाचन गराउन नपाउने बताएका छन् । वर्तमान सरकार गैरराजनीतिक भएकोले यसले आगामी निर्वाचन गर्न नपाउने उनीहरुको माग छ ।

तर वर्तमान सरकारले भने चुनावी सरकार नभई वर्तमान प्रधानमन्त्रीकै अध्यक्षतामा विपक्षी दलका सदस्यहरु पनि समावेश गरी संयुक्त सरकार गठन गर्ने बताएको छ । उक्त प्रस्तावलाई पनि विपक्षीले अस्वीकार गरिसकेका छन् । प्रधानमन्त्रीले राजिनामा नदिने र निर्धारित समयमै निर्वाचनको तयारी गरिरहेको भन्दै विपक्षीहरुले आन्दोलन नरोक्ने बताएका छन् । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us