एड्स लागेका किन लुक्छन् ?

काठमाण्डु टुडे २०७० मंसिर १५ गते १०:१० मा प्रकाशित

HIV AIDSकाठमाण्डु, १५ मंसिर– राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले कतिपय एचआइएभी सङ्क्रमित तथा एड्स भएका समाजमा किन लुकेर बसिरहेका भन्दै के बाहिर आउन नसक्नुका कारण पत्ता लगाउन चुनौती रहेको बताएको छ ।

२६ औं विश्व एड्स दिवसका सन्दर्भमा शनिबार आयोजित छलफलमा केन्द्रले सन् २०१२ मा गरेको पछिल्लो अध्ययनमा एचआइभी सङ्क्रमितको सङ्ख्या ४८ हजार ६ सय रहेको छ । यसमा १५ देखि ४९ वर्षको जनसङ्ख्यामा एचआइभी सङ्क्रमण दर ०.२८ रहेको छ ।

नेपालमा दैनिक चारदेखि छ जनामा एचआइभी सङ्क्रमण हुने र बर्सेनि ४ हजार ८ सय को मृत्युको कारकतत्व एचआइभी÷एड्स नै हुने गरेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्याङ्क छ । विश्वमा प्रत्येक घन्टामा २ सय ६२ जना सो रोगबाट सङ्क्रमित हुने गर्दछन् । उसो त विश्वमा प्रत्येक दिन चार हजार ४ सय जना एचआइभी/एड्सका कारण मृत्यु हुने गर्दछ ।

४ हजार बालबालिका संक्रमित

अर्काेतर्फ रगत परीक्षणबाट २२ हजार ९ सय ९४ जनामा एचआइभी सङ्क्रमण भएको पाइएको केन्द्रले जनाएको छ । यो तथ्याङ्क असार मसान्तसम्मको रहेको केन्द्रका निर्देशक डा.नरेशप्रताप केसीले जानकारी दिए । उनका अनुसार एचआइभी सङ्क्रमित बालबालिकाको सङ्ख्या ४ हजार रहेको छ ।

निर्देशक केसीले कार्यक्रममा नेपालमा एचआइभी÷एड्स केन्द्रीकृत महामारीका रुपमा रहेको जानकारी दिनुभयो । एक वा एक बढी उच्च जोखिम रहेका समूहमा एचआइभी सङ्क्रमण पाँच प्रतिशतभन्दा बढी तर सामान्य जनसङ्ख्यामा एक प्रतिशतभन्दा कम भएको अवस्थालाई केन्द्रीकृत महामारी भन्ने गरिन्छ ।

विदेश जाने जोखिममा

एचआइभी सङ्क्रमणको उच्च जोखिममा रहेका समूहमा सुईद्वारा लागुपदार्थको प्रयोगकर्ता, यौनकर्मी, तिनका ग्राहक, पुरुष समलिङ्गी, रोजगारीका लागि भारत तथा तेस्रो मुलुक जाने तथा तिनका दम्पत्ती रहेका छन् । यस्ता समूहलाई लक्षित गरी केन्द्रले राष्ट्रिय एचआइभी एड्स रणनीति लागू गरिराखेको केन्द्रका निर्देशक डा.केसीले जानकारी दिए ।

कार्यक्रममा केन्द्रले एचआइभी÷एड्स भएकाका विभिन्न ४४ केन्द्रमा एआरटी (एन्टिरेट्रोभाइरल ट्रिटमेन्ट) सेवा उपलब्ध गराइराखेको र यस्ता केन्द्रमा आउनेको सङ्ख्या आठ हजार ५ सय ४६ रहेको, एचआइभी सङ्क्रमित गर्भवती आमाबाट बच्चामा हुने सङ्क्रमणको जोखिम कम गर्ने सेवा ६२ केन्द्रमा उपलब्ध गराइएको, यस्तो सेवा लिने आमाको सङ्ख्या १ सय ६२ भन्दा बढी भएको जानकारी दिएको थियो ।

आइतबार एड्स दिवस

‘एचआइभीको नयाँ सङ्क्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई हुने शून्यमा पुर्‍याऔँ’ भन्ने नाराका साथ आइतबार नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी विश्व एड्स दिवस मनाइँदै छ ।

एचआइभी र एड्ससम्बन्धी प्रभावकारी रोकथाम, उपचार, हेरचाह तथा सहयोगका लागि विश्वव्यापी समर्थन जुटाउँदै बृहत्तर जनचेतना जगाउने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा डिसेम्बर १ लाई विश्व एड्स दिवस मनाइने गरिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us