जोडदार आवाज उठाउन अर्थमन्त्री इन्डोनेसिया गए

काठमाण्डु टुडे २०७० मंसिर १५ गते ९:४० मा प्रकाशित

shankar koiralaकाठमाण्डु, १५ मंसिर– अर्थ, वाणिज्य तथा आपूर्ति मन्त्री शङ्कर कोइराला इन्डोनेसियाको बालीमा हुने विश्व व्यापार सङ्गठनको नवौं मन्त्रिस्तरीय सम्मेलनका लागि शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

इन्डोनेसियातर्फ प्रस्थान गर्नुअघि वाणिज्य मन्त्री कोइरालाले उत्पत्तिको नियमको सन्दर्भमा यस्तो नियम अति कम विकसित मुलुकको निर्यात व्यापारका लागि सरल, सहज र सहुलियतपूर्ण हुनुपर्ने विषयमा समूहको तर्फबाट नेपालले जोडदार आवाज उठाउने बताए ।

मंसिर १८ देखि २१ गतेसम्म हुने सम्मेलनमा नेपालको सहभागिता विशेष महत्वपूर्ण रहेको छ । विश्वव्यापार सङ्गठनमा अतिकम विकसित मुलुकहरुको समूहको संयोजकको भूमिका निर्वाह गरिरहेको सन्दर्भमा नेपालले व्यापार सहजीकरण, कृषि र अतिकम विकसित मुलुकका समस्या र चासोको विषयमा छलफल गर्ने कार्य योजना तय गरेको छ ।

अति विकसित मुलुकका विशेष चासोका रुपमा विगतदेखि वार्ताका क्रममा रहेका ड्यूटी फ्री कोटा फ्रीमा बजार पहुँच, उत्पत्तिको शौविद्धकारी नियम र सेवा परित्यागको कार्यान्वयनको विषयमा सम्मेलनमा सघन रुपमा छलफल हुने बताइएको छ । ड्यूटी फ्री कोटा फ्रीको सन्दर्भमा कम्तीमा पनि ९७ प्रतिशत सुविधा दिने विगतको निर्णयको कार्यान्यन नेपाललगायतका अति कम विकसित मुलुकको प्रमुख चासोको विषय हो ।

प्रतिनिधिमण्डलमा वाणिज्य तथा आपूर्ति मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, कृषि, अर्थ र कानुन मन्त्रालयका सहसचिव तथा जेनेभास्थित नेपाली नियोगका प्रतिनिधि सहभागी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us