निर्वाचन आयोगको सर्कुलर पेरिसडाँडामा सार्वजनिक

काठमाण्डु टुडे २०७० मंसिर १५ गते १७:०६ मा प्रकाशित

काठमाण्डु १५ मंसिर संबिधानसभा निर्वाचन भन्दा दुई दिन अघि निर्वाचन आयोगले जारी गरेको सर्कुलर एकीकृत माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडाबाट सार्वजनिक भएको छ । सो पार्टीको केन्द्रीय समितिमा अध्यक्ष प्रचण्डले पढेर सुनाएको सो १० बुँदे सर्कुलर शनिवार प्रवक्ता अग्नी सापकोटाले पत्रकारहरुलाई पनि पढेर सुनाएका थिए ।

त्यहि सर्कुलरका आधारमा मंसिर ४ गते भएको निर्वाचनमा संस्थागत र नीतिगत धाँधली भएको एमाओवादीको ठहर छ । प्रवक्ता अग्नी सापकोटाका अनुसार १० बुँदे सर्कुलर मध्ये चार वटा बुँदामा धाँधली गराउन प्रेरित देखिएको छ । आफनो नियमित पत्रकार भेटघाटमा प्रवक्ता सापकोटाले भने ‘निर्वाचनमा भएको धाँधलीको पुनरावलोकन नगरी संबिधानसभामा जाँदैनौ,सरकारमा जाने कुरा त वाइयात हो,सरकारमा जाने कुरा कु तर्क मात्रै हो ।’ agni sapkota

स्रोतका अनुसार एकीकृत माओवादीले निर्वाचनमा ९० देखि एक सय वटा मतपेटिका साटिएको सूचना प्राप्त गरेको छ । एकीकृत माओवादीसहित निर्वाचनमा सहभागी भएका १३ वटा दलले निर्वाचनमा भएको धाँधलीको छानवीन गर्न उच्चस्तरिय आयोग गठन गर्न सरकार र निर्वाचन आयोगलाई आग्रह गरेको छ । एकीकृत माओवादीले भने नेता बर्षमान पुनको संयोजकत्वमा निर्वाचनमा भएको धाँधलीका वारेमा अनुसन्धान गर्न पाँच सदस्यीय छानवीन आयोग गठन गरेको छ ।

‘निर्वाचनमा भएको धाँधलीको छानवीन गर्न सरकारले स्वतन्त्र आयोग बनाउनु पर्छ,त्यो नगरेमा हामी संबिधानसभामा जाँदैनौ,जनमत सिर्जना गर्न जनता कहाँ जान्छौ ।’ प्रवक्ता सापकोटाले भने‘हामी आन्तरिक कारण हारेका होइनौ,संस्थागत र नीतिगत धाँधलीका कारण हारिएको हो ।’

एक अर्का प्रश्नको जवाफमा प्रवक्ता सापकोटाले नयाँ जनादेश प्राप्त भएको मान्ने हो भने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनु पर्नेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us