
बुटवल, १५ मंसिर– एकीकृत एमाओवादी नेता बाबुराम भट्टराईले परिवर्तन संस्थागन गर्नमा भएको ढिलाइका कारण संविधानसभा निर्वाचनमा आफ्नो पार्टी पराजित भएको बताएका छन् ।
क्रान्तिकारी पत्रकार संघले बुटवलमा बिहान गरेको पत्रकार भेटघाटमा भट्टराईले क्रान्तिकारी परिवर्तन संस्थागत गर्न नसक्दा पार्टी पराजित भएको बताएका हुन् ।
‘एकातिर संमणकाल लम्कियो, अर्कोतिर क्रान्तिकारी परिवर्तन संस्थागत गर्न ढिलो भयो’, भट्टराईले भने, ‘जनतामा क्रान्तिको राप र ताप सेलाएको मौका छोपेर प्रतिगामी र यथास्थितिवादी शक्ति अगाडि आए ।’
उनले एमाओवादी हारेकामा खुसी नमनाउन आग्रह गर्दै परिवर्तनको प्रक्रियाले हारेकामा चिन्तित बन्न सुझाए । भट्टराईले यथास्थितिवादी र प्रतिगामी शक्तिको पुनरोदय हेर्दा संविधानसभाबाट जनपक्षीय संविधान बन्नेमा आशंका उब्जिएको उल्लेख गरे ।
उनले काँग्रेस–एमालेसहितका दलले संविधानसभामा संसदको नियमित चुनावमा जस्तै गरी भोट मागेको र जनताले पनि कुरा बुझ्न नसकेको टिप्पणी गरे । उनले निर्वाचनको मतगणनामा धाँधली भएको दोहोर्याउँदै छानबिनको मागसमेत गरे ।
भट्टराईले आफ्नो पार्टी शान्ति र संविधानको कोर्षबाट बाहिर नबस्ने बरु राष्ट्रिय सहमतिका साथ अघि बढ्न अन्तरिम संविधमान संशोधन गर्नुपर्ने बताए ।