
काँग्रेस महामन्त्री प्रकाशमान सिंहले राष्ट्रपति र उपराष्ट्रपति फेर्ने एजेण्डा उठाएर संविधान लेखनको मुल मुद्धा ओझेलमा पार्ने काम भइरहेको बताएका छन् ।
काठमाण्डु क्षेत्र नम्बर–१ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका सिंहको सम्मानमा काँग्रेस क्षेत्र नम्बर–१ ले राजधानीमा आज गरेको चियापान कार्यक्रममा उनले राष्ट्रपति निर्वाचनको कुरा उठाएर संविधान निर्माणको राष्ट्रिय कार्यभारलाई छायाँमा नपार्न सबैलाई आग्रह गरे ।
काँग्रेसबाहेक सबै दलले ताजा जनादेशअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनुपर्ने बताउँदै आएका छन् । कार्यक्रममा सिंहले अन्तरिम संविधानको व्यवस्थाअनुसार संविधानसभाबाट नयाँ संविधान जारी नभएसम्म वर्तमान राष्ट्रपति नै कायम रहने दाबी गरे ।
जनताले काँग्रेसको नेतृत्वमा सरकार गठन गर्ने स्पष्ट अभिमत दिएकाले सोहीअनुसार सबैलाई मिलाएर अघि बढ्ने महामन्त्री सिंहले बताए । निर्वाचनमा धाँधली भएको बताउँदै आएको एकीकृत माओवादी पनि संविधान निर्माण प्रक्रियामा सहभागी हुने विश्वास सिंहको छ ।