एभरेस्ट म्याराथन २०१३ को उपाधि राजभण्डारीलाई

काठमाण्डु टुडे २०७० मंसिर १५ गते १:५८ मा प्रकाशित

सोलुखुम्बु, १५ मङ्सिर–चौंरीखर्क–८ लुक्लाका रामकुमार राजभण्डारीले एभरेस्ट म्याराथन २०१३ को उपाधि जित्दै आफ्नै कीर्तिमानी भङ्ग गरेका छन् ।
एभरेस्ट म्याराथन २०११ को उपाधिसमेत जितेका श्रेष्ठले यस वर्ष पनि प्रतियोगिता जितेका हुन् । शुक्रबार सम्पन्न गोरक्सेदेखि नाम्चेसम्मको ४२ किमिको दूरी श्रेष्ठले तीन घन्टा ४० मिनेट ४३ सेकेन्डमा पूरा गरेका हुन् ।  सन् २०११ मा तीन घन्टा ५२ मिनेटमा दूरी पूरा गरेका श्रेष्ठ यस वर्ष १२ मिनेट अगाडि भए ।
यस्तै प्रतियोगितामा नेपाली सेनाका भीमबहादुर गुरुङले तीन घन्टा ५४ मिनेट २० सेकेन्डमा र सोलुखुम्बु सोताङका डिबी कलुङ चार घन्टा ४ मिनेटमा दूरी पूरा गरी क्रमशः दोस्रो र तेस्रो भएका छन् । हरेक वर्ष सहभागी हँुदै आएका गुदेलका सुदीप कुलुङले यस वर्ष चौथो स्थानमा चित्त बुझाएका छन् ।
प्रतियोगितामा महिलातर्फ सोलुखुम्बु गुदेलका कविता मुस्कान नाछिरिङले पाँच घन्टा ५९ मिनेटमा दूरी पूरा गरी प्रथम भएकी छन् । यस्तै गुदेलकै अस्मिता नाछिरिङले छ घन्टा ३३ मिनेट ३२ सेकेन्डमा दूरी पूरा गरी दोस्रो र बेलायतकी बेथ थम्पसन तेस्रो भएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई रु ८० हजार, ५० हजार र रु ३० हजार तथा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा बेलायत, अस्ट्रिया, अमेरिका, न्युजिल्यान्ड, डेनमार्क, नेदरल्यान्ड्स र नेपालका गरी ५९  धावकले भाग लिएका थिए । हरेक दुई दुई वर्षमा एभरेस्ट म्याराथन बेलायतको आयोजनामा एभरेस्ट म्याराथन प्रतियोगिता आयोजना गरिँदै आएको छ ।
लगातार तीन वर्षसम्म म्याराथनको उपाधि जितेमा अन्तर्राष्ट्रियस्तरको दौडमा सहभागी हुने अबसर आयोजक संस्थाले उपलव्ध गराउने व्यबस्था गरेको छ ।  यसअघि सन् २००५, २००७ र २००९ मा गरी लगातार तीन पटक प्रतियोगिताको उपाधि जितेर जुुम्लाका हरिबहादुर रोकायले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने मौका पाएका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us