अर्थमन्त्री बेलायतीसँग, अर्थसचिव जापानीसँग

काठमाण्डु टुडे २०७० मंसिर १४ गते १३:०८ मा प्रकाशित

shankar koiralaकाठमाण्डु, १४ मंसिर– अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री शंकरप्रसाद कोइरालाले विश्व व्यापार संगठनको नवौँ वाणिज्य मन्त्रीस्तरीय बैठकमा आफ्नो एजेण्डा सशक्तरुपमा उठाउने बताएका छन् ।

नेपालका लागि बेलायती राजदूत एन्ड्रयू जेम्स स्पार्कसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री कोइरालाले अति कम विकसित मुलुकहरुको अध्यक्षता गर्ने मौका पाएको नेपालले आफू र आफूजस्तै कठिनाई भोगिरहेका मुलुकका विषयमा ठोस प्रस्ताव ल्याउने जानकारी दिए ।

राजदूत स्पार्कले विश्व व्यापार संगठनमा अति विकसित मुलुकहरुले खेल्नुपर्ने भूमिका विषयमा सचेत गराउँदै विकसित मुलुकबाट लिने सहयोगको दायरा बढाउन सुझाव दिए ।

अर्थ सचिव जापानी राजदूतसँग

अर्थ सचिव शान्तराज सुवेदीसँग नेपालका लागि जापानी राजदूत मासासी ओगानले आज अर्थ मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् । भेटमा अर्थ सचिव सुवेदीले नेपालको विकासमा जापान सरकारले पुर्‍याएको सहयोगको सह्रहाना गर्दै जापान सरकार र जापानी जनतालाई धन्यवाद दिएका थिए ।

जापान सरकारले नेपालको सामाजिक, कृषि क्षेत्र र आर्थिक पूर्वाधारमा सहयोग गर्दै आएकामा सो सहयोगलाई बढोत्तरी गर्न सचिव सुवेदीले आग्रह गरेका अर्थ सचिवको सचिवालयले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विगतमा जस्तै आगामी दिनमा पनि नेपाल र जापानको सम्बन्ध सुमधुर बनाई राख्न पहल गर्ने र नेपाल अझै पनि सङ्क्रमणकालीन अवस्थामा नै गुज्री रहेकोले विकास आयोजनामा अपेक्षित प्रगति हासिल गर्न नसकेको भएपनि केही दिन अगाडि सम्पन्न संविधानसभा निर्वाचनले मुलुकलाई स्थिरतातर्फ लैजाने, आर्थिक गतिविधिले तीव्रता पाउने अर्थ सचिव सुवेदीले बताएका थिए ।

राजदूत ओगावाले नेपालको विकास प्रक्रियामा जापान सरकारको सहयोग निरन्तर रहने र आगामी समयमा यसलाई बढाउँदै लैजाने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us