कमल थापाले भनेः राष्ट्रपति फेर्नुपर्छ

काठमाण्डु टुडे २०७० मंसिर १४ गते १०:५७ मा प्रकाशित

Kamal-Thapaकाठमाण्डु, १४ मंसिर– संविधानसभा निर्वाचनपछि चौथो राजनीतिक शक्ति बनेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले नयाँ निर्वाचनको जनादेश अनुसार संवैधानिक पद र अन्य सरकारी अंगहरुको नियुक्ति नयाँ गरिनुपर्ने बताएका छन् ।

राष्ट्रपति, उपराष्ट्रपति लगायतका पदमा नयाँ संविधानसभाले परिवर्तन गर्नुपर्ने भन्दै राप्रपा नेपाल राष्ट्रपति फेर्ने पक्षमा स्पष्ट रहेको थापाले बतए । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै उनले राष्ट्रपति पहिलेको निर्वाचनबाट आएकोले पदमा बसिरहन नमिल्ने बताएका हुन् ।

सरकार गठन प्रक्रियामा राप्रपा नेपाल नलाग्ने भन्दै आफ्नो पार्टी प्रतिपक्षमा बस्ने थापाको भनाइ थियो । उनले भने, ‘राप्रपा नेपाललाई जनताले प्रतिपक्षमा बस्ने जनमत दिएको छ । हामी सत्ताको फोहोरी खेलमा लाग्दैनौं । राप्रपा नेपालले संविधान निर्माणमा सहमति र सम्झौताको बाटो अंगाल्ने छ ।’

उनले आफ्नो पार्टी जनताले वैकल्पिक शक्तिको रुपमा स्थापित गरिदिएको उल्लेख गर्दै अघिल्लो संविधानसभाले गरेका कुनै पनि काम मान्य नहुने जिकिर गरे । सरकार गठनमा काँग्रेस एमालेले पहल गर्नुपर्ने बताउँदै काँग्रेस एमालेले फराकिलो छाति बनाएर नयाँ उचाइबाट काम गर्नुपर्ने धारणा थापाले राखे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us