हावा र हात्तीले पुर्‍याए स्कुललाई चउरमा

काठमाण्डु टुडे २०७० मंसिर १४ गते १०:१४ मा प्रकाशित

saptari mapसप्तरी, १४ मंसिर– हावाहुरीले विद्यालयको छाना लडाएपछि र हात्तीले विद्यालय भत्काएपछि सप्तरीको एक ग्रामीण भेगको विद्यालयका बालबालिका डेढ वर्षदेखि चौरमा बसेर पढ्न बाध्य छन् ।

विद्यालय भवनको अभावमा कमलपुर गाविस–४ मलाहा टोलमा रहेको राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययन गर्ने बालबालिका डेढ वर्षदेखि चौरमा बसेर पढ्न बाध्य भएका हुन् । चार वर्षअघि ०६६ सालमा स्थापना भएको उक्त विद्यालयको छाना ०६९ जेठ १९ गते राति हावाहुरीले उडाएपछि सो विद्यालयमा अध्ययन गर्ने बालबालिका हालसम्म पनि चौरमा बसेर पढ्न बाध्य रहेको शिक्षक ललितनारायण झाले बताए ।

छाना लडेको विद्यालय ०६९ भदौ १५ गते कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीको समूहले पूर्णतया भत्काएपछि पुनःनिर्माण गर्नुपर्ने आवश्यकता रहेको प्रधानाध्यापक विनोदकुमार यादवले जानकारी दिए ।

विद्यालय भत्केको डेढ वर्ष बितिसक्दा पनि सरोकारवाला कसैको ध्यान नपुगेको प्रधानाध्यापक विनोदकुमार यादवको गुनासो छ । जिल्ला शिक्षा कार्यालय सप्तरी, स्रोतकेन्द्र कञ्चनपुर र कोसी टप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती व्यवस्थापन समितिमा सहयोगको माग गरे पनि हालसम्म सरोकारवालाको ध्यान नपुगेको प्रधानाध्यापक यादवको कथन थियो ।

विद्यालयका सहयोगी कार्यकर्ता दिलीपकुमार मलाहाले खुला चौरमा पढाउनु परेका कारण पढाइमा विद्यार्थीको ध्यान केन्द्रित हुन नसकेको, पठन–पाठनमा गाह्रो भएको, पानी पर्दा र टन्टलापुर घाम लाग्दा बिदा दिनुपरेको जस्ता समस्या रहेको बताए । उनका अनुसार कक्षा तीनसम्म पठनपाठन भइरहेको विद्यालयमा ११८ जना अध्ययन गरिरहेका छन् ।

विद्यालयमा भवन अभावका कारण तीनवटै कक्षाका विद्यार्थीलाई एउटै ठाउँमा खुला चौरमा बसाएर पढाउनु परेको समस्या मलाहाले सुनाए । विद्यालयको सेवा सुविधा र समस्याका बारेमा राज्यले उपेक्षा गर्दै आएकोमा अभिभावकले दुःख व्यक्त गरेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us