मनोरञ्जन थलोका कारण काभ्रेमा एचआइभी फैलिँदै

काठमाण्डु टुडे २०७० मंसिर १४ गते १०:०२ मा प्रकाशित

Kavreबनेपा, १४ मंसिर । विदेश गएका श्रीमानसँगको यौन सम्पर्क र यौनकर्मीसँग भएको यौन सम्बन्धका कारण काभ्रेमा एचआइभी सङ्क्रमित बढ्दै गएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. अर्जुन सापकोटाका अनुसार गत वर्ष २२८ जनामा एचआइभी सङ्क्रमित रहेको काभ्रेमा अहिले २५ जना बढेर २५३ जना पुगेका छन् र २८ जनाले नियमित औषधि सेवन गरिरहेका छन् ।

उनले काभ्रेको अरनिको राजमार्ग र बिपी राजमार्ग आसपासमा २५ देखि ३९ वर्षसम्मका युवायुवती र महिला पुरुषमा एचआइभी सङ्क्रमण देखिएको बताए । डा सापकोटाले भने, ‘काभ्रेको धुलिखेल आसपासको क्षेत्रलाई मनोरञ्जनको थलो बनाएका कारण पनि एचआइभी सङ्क्रमण बढ्दो अवस्थामा देखिन थालेको छ ।’

‘भेदभावलाई शून्यमा पुर्‍याउँ’ भन्ने नाराका साथ मनाउन लागिएको एड्स दिवसका दिन एचआइभी सङ्क्रमितहरुले नै तयार पारेको खाजा खुवाए सहभोज गर्ने पनि डा सापकोटाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us