राष्ट्रपतिबारे काँग्रेस-एमालेका नेताबीच विवाद

काठमाण्डु टुडे २०७० मंसिर १४ गते ९:१२ मा प्रकाशित

shankar pokhrel-prakash sharan mahatकाठमाण्डु, १४ मंसिर– नेकपा एमालेका सचिव शंकर पोखरेलले अहिलेकै राष्ट्रपतिलाई निरन्तरता दिने भए पनि फ्रेस म्याण्डेड अनुसार चल्नुपर्ने बताएका छन् । निर्वाचनले फ्रेस म्याण्डेड दिएको भन्दै राष्ट्रपतिको विषयलाई पनि सोही अनुसार टुङग्याउनु पर्ने उनले बताएका हुन् ।

नेता पोखरेलले भने, ‘नयाँ राष्ट्रपति बनाउने वा अहिलेकै राष्ट्रपति राख्ने भन्ने विषयलाई सहमतिअनुसार नयाँ जनमतको म्याण्डेड अनुरुप टुङग्याउनु पर्छ ।’ रिपोटर्स क्लबमा शुक्रबार आयोजित साक्षात्कारमा बोल्दै उनले नेपाली काँग्रेस ठूलो दलको रुपमा स्थापित भएकोले अब सहमतिको प्रस्ताव ल्याउने दायत्वि पनि उसैको भएको भन्दै सरकार, राष्ट्रपति र संविधान निर्माणको विषयलाई आफ्नो प्रस्तावमा समेट्नु पर्ने बताए ।

एमाआवादी प्रस्ताव अनुचित होइन

नेपाली काँग्रेस र नेकपा एमालेको दुईतिहाई बहुमत नपुगेको अवस्थामा एमाओवादीको संविधान संसोधनको माग उचित नभएको तर्क गर्दै उनले एमाओवादीले आफ्नो एजेण्डा अनुसार संविधान संसोधनको माग गर्नु राजनीतिक रुपमा अनुचित भने नभएको टिप्पणी गरे ।

सचिव पोखरेलले भने, ‘एमाओवादीले राजनीतिक रुपमा पोजिसन राख्न खोज्नु अनुचित होइन, दलहरुले आफ्नो ऐजेण्डा संविधान राख्न खोज्छन् । त्यो स्वभाविक नै हो ।’

नेकपा एमाले १२ बुँदे सम्झौता, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र विघटित संविधानसभामा भएका सहमतिप्रति प्रतिवद्ध भएकाले संविधान निर्माण प्रक्रियालाई ओझेलमा पार्ने गरी सरकार निर्माणमा नलाग्ने बताए ।

उनले भने, ‘सरकार निर्माणको विषयले संविधान निर्माणमा नकारात्मक असर पर्ने भए हामी सरकार छाडेर संविधान निर्माणमै केन्द्रीत हुन्छौ । नयाँ संविधान निर्माण गर्ने कुरा सत्ताका कारण रोकिनु हुँदैन ।’

राष्ट्रपतिलाई भागवण्डा गर्नुहुँदैनः महत

त्यस्तै साक्षात्कारमा नेपाली काँग्रेसका नेता डा. प्रकासशरण महतले राष्ट्रपतिको विषयलाई भागवण्डाको विषय बनाएर जनतालाई फेरि पनि निराश बनाउन नहुने बताएका छन् । यस विषयमा सहमतिले बाटो खोज्नु पर्ने भन्दै उनले नयाँ निर्वाचनसँगै राष्ट्रपतिको विषयमा पनि बहस भने सुरु भएको बताए ।

उनले भने, ‘संविधानमा पनि नयाँ संविधान जारी नहुन्जेलसम्म राष्ट्रपति कायम रहने व्यवस्था छ । फेरि राष्ट्रपतिले पनि सन्तुलित रुपमा जिम्मेवारी पूरा गर्नु भएको छ ।’

कम्तिमा पनि संविधान निर्माण नहुन्जेलसम्म सहमतिकै आधारमा सरकार र संविधान निर्माणलाई अघि बढाउने योजनामा काँग्रेस रहेको भन्दै एमाओवादीले भनेजस्तो अहिले नै संविधान संसोधन गरेर पूर्ण सहमतिको कुरा राखिए संविधान फेरि पनि बन्न नसक्ने दावी गरे ।

धाँधली भएको छैन

अबको जिम्मेवारी जातजातिलाई एकीकृत गर्ने गरी सबैको पहिचान कायम हुने गरी लोकतान्त्रिक संविधान नर्मिाण गर्नु नै भएको भन्दै एमाओवादीलाई परिणाम स्विकारेर मिलेर संविधान निर्माणमा लाग्न आब्हान गरे । उनले भने, ‘एमाओवादीले भने जस्तो धाँधली भएको छैन । परिणाम स्विकारेर मिलेर संविधान बनाऔं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us