
झापा, १४ मंसिर– कांग्रेस महामन्त्री कृष्ण सिटौलाले नयाँ संविधान जारी नभएसम्म रामवरण यादव नै राष्ट्रपति कायम रहने बताएका छन् ।
संविधानसभा निर्वाचनमा झापा–१ बाट विजयी भएका सिटौलाले मतदातालाई धन्यवाद दिन जिल्लाको जलथल गाविस पुगेका बेला सञ्चारकर्मीसँग यस्तो बताएका हुन् ।
संविधानसभाबाट नयाँ संविधान जारी नभएसम्म राष्ट्रपति यथावत रहने भएकाले राष्ट्रपति निर्वाचनबारे कुरै नउठाउन उनको आग्रह थियो । ‘संविधानसभाबाट नयाँ संविधान जारी नहुँदासम्म कानुनी र व्यवहारिक दुवै हिसाबले वर्तमान राष्ट्रपति कायम हुँदा उपयुक्त हुन्छ’, सिटौलाले भने, ‘संविधान जारी नगरी अन्तरिम संविधान–२०६३ मा संविधानसभाबाट नयाँ संविधान जारी भएपछि राष्ट्रपति निर्वाचन हुने उल्लेख छ ।
संविधानसभा निर्वाचनमा दोस्रो दल बनेको एमाले र तेस्रो दल एकीकृत माओवादीले ताजा जनादेशअनुसार राष्ट्रपति निर्वाचन हुनुपर्ने बताउँदै आएका छन् ।