नेपाल र अफगानिस्तान सेमिफाइनलमा भिड्दै

काठमाण्डु टुडे २०७० मंसिर १४ गते ४:२७ मा प्रकाशित

icc-world-twenty20-qualifier-2013-uaeकाठमाण्डु, १४ मंसिर– युएईमा जारी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा शुक्रबार नेपालले अफगानिस्तानको सामना गर्दैछ । खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ ।

विश्वकपमा पहिलोपटक छनोट भएको नेपाल अफगानिस्तानविरुद्ध उच्च मनोबलका साथ मैदान उत्रदै छ । यसअघि प्रतियोगिताको एउटै समूहमा रहेका यी दुई टोलीबीचको खेलमा अफगानिस्तान विजयी भएको थियो । नेपाल सोही हारको बदला लिने दाउँमा छ ।

युएइमा जारी छनोट प्रतियोगिताबाट नेपाल, अफगानिस्तान, आयरल्याण्ड, युएई, नेदरल्याण्ड्स र हङकङ गरी ६ वटा टोली आगामी मार्चमा बंगलादेशमा हुने टी–२० विश्वकप क्रिकेटका लागि छनोट भइसकेका छन् ।

नेपाललाई ३ लाख डलर सहयोग

यसैबीच, विश्वकपको तयारीका लागि नेपालले अन्तराष्ट्रिय क्रिकेट परिषद आइसीसीबाट ३ लाख डलर सहयोग पाउने भएको छ । आइसीसीले एसोसियट राष्ट्रहरुका लागि सञ्चालन गरेको हाई पर्फमेन्स फन्डबाट नेपाललाई रकम दिन लागेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us