एक दर्जन दलित परिवार पानीबाट वञ्चित

काठमाण्डु टुडे २०७० मंसिर १४ गते २:५२ मा प्रकाशित

कञ्चनपुर, १४ मंसिर–शुल्क तिर्न नसक्दा कञ्चनपुरको भीमदत्तनगरपालिका–९ ब्रम्हदेवका १५ दलित परिवार खानेपानी पाउनबाट वञ्चित रहेका छन् । ब्रम्हदेव खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा आबद्ध दलित परिवारले घर नजिकै खानेपानीको ओभरहेड ट्याङ्की बनेको भए पनि आर्थिक अभावका कारण खानेपानी पाउनबाट वञ्चित रहनुपरेको बताएका छन् ।

उपभोक्ता समितिले धरौटीबापत रु तीन हजार, मिटर राखेबापत रु एक हजार ५०० र  धारा जडान गरेबापत प्राविधिकलाई दिनुपर्ने ज्याला दिन नसक्दा खानेपानी नपाएको स्थानीय केशव भुलले बताए । ‘मुख्य पाइपबाट दलित बस्तीसम्म खानेपानीका लागि पाइपसमेत नबिछ्याइएकाले धारा राख्न पाएका छैनौं,’ अम्बिका सार्कीले भनिन, ‘दैनिक गुजारा चलाउनका लागि मिहिनत मजदुरी गर्नुपर्छ, धारा राख्नका लागि आवश्यक रकम जुटाउने स्रोत नहँुदा समस्यामा छौं ।’

दलितपरिवारले धारा जडान गर्न नसक्दा नजिकैको खोला र हेन्डपम्पबाट पानी ल्याएर गुजारा चलाउँदै आएका छन् ।

मुख्य लाइनबाट बस्तीसम्म खानेपानी पु¥याउनका लागि जनश्रमदान गर्नुपर्ने भए पनि दलित बस्तीका व्यक्तिले श्रमदान नगर्दा पानी पु¥याउन नसकिएको उपभोक्ता समितिका सचिव गणेशसिं विष्टले बताए । समितिसँग पाइपको व्यवस्थासमेत नभएकाले खानेपानीको लाइन विस्तार गर्न नसकिएको उनको भनाइ थियो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका शाखा अधिकृत गौराज लिम्बूले दलित बस्तीका लागि कार्यालयले पाइप उपलब्ध गराउने बताए ।

ब्रम्हदेव खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले विसं २०६५ मा दुई लाख २५ हजार क्षमताको ओभरहेड ट्याङ्की निर्माण गरी त्यहाँका ४३५ परिवारलाई शुद्ध पेयजल उपलब्ध गराउँदै आएको छ । उपभोक्ताले मासिक रुपमा १० हजार लिटर पानी उपभोग गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us