
दमौली, १४ मंसिर–नेपाल कोरिया संयुक्त स्वास्थ्य विकास कार्यक्रमअन्तर्गत एसिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्चद्वारा तनहुँको भानु–६ नरेश्वटारमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा बिहीबारसम्म एक हजार ४०० बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । कोरियन चिकित्सकको टोलीले ती बिरामीको स्वास्थ्य परीक्षण गरेका हुन् ।
शिविरमा पेटसम्बन्धी रोग, स्त्रीरोग, बालरोग, मुटुरोग, हाडजोर्नी, फिजियोथेरापी, जनरल फिजिसियन, शल्यक्रिया, अल्ट्रासाउन्ड, इसिजी, ल्याब सेवा र औषधि तथा परामर्श सेवा दिइएको मञ्चका अध्यक्ष सिद्धिचन्द्र बरालले जानकारी दिए । शिविरमा रु ३० लाख बराबरको औषधि निःशुल्क वितरण गरिने बताइएको छ । शिविरमा आउनेमा महिलाको पाठेघर, मुटुरोगी, ग्यास्टिक तथा बालबालिकामा छाला र निमोनियाका बिरामी बढी रहेको जानकारी अध्यक्ष बरालको भनाइ छ ।
कोरियन डा लिवाङ जुनको नेतृत्वमा रहेको २६ जना कोरियन स्वास्थ्यकर्मी र स्वदेशका डा हेमन्त बाटाजु र डा महेश खकुरेलले ती बिरामीको स्वास्थ्य परीक्षण गरेको मञ्चले जनाएको छ । रासस