दुर्घटनामा ६ जनाको मृत्यु,२३ जना घाइते

काठमाण्डु टुडे २०७० मंसिर १४ गते १४:४२ मा प्रकाशित

काठमाण्डु, १४ मंसिर– बिभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको मध्यविन्दुमा शुक्रबार विहान भएको बस दुर्घटनामा दुईजना बालकको घटनास्थलमै मृत्यु भएको छ । झण्डै ४४ जना घाईते भएका छन् । घाईते मध्ये ७ जनाको अवस्था गम्भिर छ ।

बाँकेको नेपालगञ्जबाट मनकामना मन्दिर दर्शनका लागि दर्शनार्थी लिएर आउँदै गरेको ना ४ ख ६३६८ नम्बरको बस तम्सरीया–४ मध्यविन्दुमा दुर्घटना हुँदा नेपालगञ्जका ३ बर्षीय बालक मान्सु अधिकारी र सोही ठाउँका १४ बर्षीय सागर पुनमगरको मृत्यु भएको हो । गम्भिर घाईते ७ जनालाई थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज लगिएको र अन्य घाईतेहरुको मध्यबिन्दु सामुदायिक अस्पताल डण्डा र कालिगण्डकी अस्पताल कावासोतिमा उपचार भैरहेको पत्रकार विजय चालिसेले जानकारी दिए ।

दुर्घटनापछि बस चालक फरार रहेकोले खोजि कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय कावासोतिले जनाएको छ । बस तिब्रगतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

स्कूले बालिकाको मृत्यु

यसैगरी धादिङको गलौदीमा शुक्रबार विहान बसको ठक्करबाट कक्षा दुईमा अध्ययनरत एक बालिकाको मृत्यु भएको छ । ना ५ ख ११०१ नम्बरको बसको ठक्करबाट स्थानीय सरस्वती प्राथमिक विद्यालय कक्षा २ की विद्यार्थी अञ्जली तामाङको मृत्यु भएको हो । अर्की कक्षा १ मा पढ्ने अञ्जना तामाङ घाइते भएकी छन् ।

दुर्घटनाको विरोधमा स्थानीयले राजमार्ग ठप्प पारेका हुन् । सवारी चालकलाई नियन्त्रणमा लिइएको र सडक खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

ट्रक दुर्घटनामा सहचालकको मृत्यु

यसैगरी बेनी–जोमसोम सडकखण्डअन्तर्गत जलेश्वरस्थित कालीगण्डकी नदीमा ध १ ख १९२ नम्बरको मालबाहक ट्रक खस्दा सोही ट्रकका सहचालक म्याग्दी घतान–७ का ४८ वर्षीय शेरबहादुर चोखालको मृत्यु भएको छ ।

नेपाली सेनाको खाद्यान्न लिएर मुस्ताङतर्फ जाँदै गरेको ट्रक गएराति करिब साढे १० बजे दुर्घटना भएको हो । दुर्घटनामा ट्रक चालक लम्जुङको जीता गाविस–५ का ४५ वर्षीय चीनबहादुर मौरपी घाइते भएका छन् । उनको जिल्ला अस्पताल म्याग्दीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुई जनाको मृत्यु
पाँचथरको नवमीडाँडा कान्छी दोकान सडकखण्डमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एक चालकसहित दुई जनाको ज्यान गएको छ ।
सवारीचालक थर्पु–१ का चुलबुल भारतीको घटनास्थलमै र  नवमीडाँडा–३ का ४० वर्षीय प्रेमप्रसाद दुलालको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।  नवमीडाँडादेखि कान्छिदोकानतर्फ आइरहेको मे१त २०५७ नंको ट्याक्टर सिवा– ३ स्थित धारापानी भनिे ठाउँमा अनियन्त्रित भई सडकबाट १५० मि तल खस्दा दुर्घटनामा परेको हो ।
ट्याक्टरमा सवार इलाम मङ्गलबारे–६ का देवीकुमार राईलाई सख्त घाइते भएकाले थप उपचारका लागि धरान लगिएको तथा घाइते ट्याक्टरधनी नवमीडाँडा–१ का प्रेम चाम्लिङको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
दुई बस जुध्दा २३ जना घाइते
भक्तपुरको सल्लाघारीमा दुई बस जुध्दा २३ जना घाइते भएका छन् । विद्यार्थी लिएर आएको भक्तपुर मिनीबस सेवा समितिअन्तर्गत ७ नं रुटको बा३ख ६९७ नंको बस र मध्यपुर थिमि मिनीबस सेवा समितिको १ नं रुटको बा२ख ८३०३ नंको बस जुध्दा भएको  दुर्घटनामा  विद्यार्थी तथा यात्रु घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बा३ख ६९७ नंको बसका चालक बनेपा नगरपालिका–३ का राज शाहीसहित पाँच जना गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइतेलाई भक्तपुर अस्पतालबाट बिएन्डबी अस्पताल र काठमाण्डु मेडिकल कलेजमा पठाइएको छ । सामान्य घाइते रहेका १८ जनाको भने भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us