रिलायवल कोलोनीमा अवैध कल बाइपास सञ्चालन

काठमाण्डु टुडे २०७० मंसिर १३ गते १६:०२ मा प्रकाशित

काठमाण्डु, १३ मङ्सिर–केन्द्रीय अनुसन्धान ब्युरोले ललितपुर सैंबु गाविस–१ स्थित रिलायवल कोलोनीभित्र रहेको घर नं. ५४ भाडामा लिई अवैध कल बाइपास सञ्चालन गरेको अभियोगमा ५९ वर्षीय बाबु र निजका ३० वर्षीय छोरालाई पक्राउ गरेको छ ।
निजहरुले ललितपुर उपमहानगरपालिका–१२ लगनखेल प्रयागमार्गस्थित मिना बराकोटीको घरको कोठासमेत भाडामा लिई अवैध कल बाइपास सञ्चालन गरेका कारण बुबा आनन्दराज जोशी र निजका छोरा सौगातराज जोशीलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।
ती स्थानबाट अवैध कल बाइपास सञ्चालनमा प्रयोग भएका ३२ पोर्टको गेटवे थान २, आठ पोर्टको डिभाइस पाँच थान, नेपाल टेलिकमको सिमकार्ड २५ थान, एनसेलको सिमकार्ड सात थान, स्मार्ट सिम आठ थान, राउटर तीन थान, ब्याट्रीलगायत विभिन्न उपकरणसमेत फेला पारी आवश्यक कानुनी कारबाही अघि बढाएको व्युरोले जनाएको छ ।
ब्युरोले हालसम्म मुलुकका विभिन्न ५८ स्थानमा अवैध कल बाइपास विरुद्ध अप्रेशन सञ्चालन गरी ८६ स्वदेशी र २२ विदेशी गरी १०८ जनालाई पक्राउ गरी कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us